काठमाण्डौ । एनआइबिएल एस क्यापिटलले व्यवस्थापन गरेको दुईवटै म्युचुअल फण्डको प्रति इकाई खूद सम्पत्ति मूल्य(न्याभ)मा गिरावट आएको छ ।

एनआइबिएल समृद्धि फण्ड-१ र एनआइबिएल प्रगति फण्डको न्याभ साउन महिनामा अझै तल झरेको हो । 

बुधबार प्रकाशित वित्तीय विवरण अनुसार ७ वर्षे बन्दमुखी म्युचुअल फण्ड एनआइबिएल समृद्धि फण्ड १ को न्याभ घटेर ११ रुपैयाँ १५ पैसामा सीमित भएको हो । असारमा यसको न्याभ ११ रुपैयाँ २९ पैसा रहेको थियो । 

घट्दो बजारको प्रभाव म्युचुअल फण्डहरुको प्रगतिमा समेत देखिएको हो । 

कुल १ अर्बबाट सुरु भएको यो स्किमले ७६ करोड ४७ लाख सूचिकृत सेयरमा लगानी गरेको छ भने ५१ लाख ५६ हजार सार्वजनिक निश्कासन, हकप्रद र बोनस सेयरमा लगानी गरेको छ । 

यो स्किमले साउन महिनामा १ करोड ४१ लाख खूद घाटा व्यहोरेको छ । असारमा १८ करोड ५३ लाख घाटा व्यहोरेको थियो । 

यो स्किमले गरेको कुल लगानीमध्ये सबैभन्दा बढी चिलिमे हाइडोपावर कम्पनीको ४८ हजार ४ सय ९२ कित्तामा ३ करोड ५४ लाख रहेको छ । 

अर्को, ७ वर्षे बन्दमुखी म्युचुअल फण्ड एनआइबिएल प्रगति फण्डको न्याभ समेत घटेको छ । असारमा ७ रुपैयाँ ८१ पैसा रहेको न्याभ घटेर साउनमा ७ रुपैयाँ ६३ पैसामा सीमित बन्न पुगेको हो । 

यो स्किम ७५ करोडबाट सुरु भएको हो, जसले ६४ सूचिकृत कम्पनीको सेयरमा ५२ करोड ३३ लाख लगानी गरेको छ भने पब्लिक इस्यू, हकप्रद र बोनस सेयरमा २ करोड ८१ लाख लगानी गरेको छ । 

असारमा १६ करोड ७६ लाख रहेको खूद घाटा साउनमा १ करोड ३७ लाखमा सीमित बन्न पुगेको छ । 

कुल लगानीमध्ये यो स्किमले सबैभन्दा बढी एशियन लाइफ इन्स्योरेन्सको ३९ हजार ५ सय ७२ कित्तामा २ करोड ४५ लाख लगानी गरेको छ ।