काठमाण्डौ । वाणिज्य बैंकका सीइओहरुबीच ब्याजदर घटाउने बिषयमा भएको सहमतिको हल्लाले बिहीबारको सेयर बजारमा सकारात्मक प्रभाव पारेको देखिएको छ । 

बिहीबार वाणिज्य बैंकका सीइओहरुबीच मुद्धतीको ब्याजदर घटाउने सहमति भएको खबर बाहिरिएको थियो । यो खबरसँगै समग्र बैंकको ब्याजदर नै घट्ने आशामा सेयर बजारको रौनक बढेको देखिएको हो । 

यो दिन नेप्से परिसूचक करिब १० अंकले बढ्यो । नेप्से १२२८.२८ को विन्दूमा पुगे पनि कारोबार रकम भने २५ करोड २२ लाखमा सीमित बन्न पुग्यो । 

यो दिन ‘क’ वर्गका कम्पनीहरुमा खरीद चाप देखियो, फलस्वरुप सेन्सेटिभ इण्डेक्स २.३६ अंकले बढ्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.८२ अंकको बढोत्तरी भयो । 

यो दिन २ समूहको परिसूचक घट्यो भने बाँकी सबै समूहको परिसूचकमा बढोत्तरी भयो । 

होटल समूहमा ३५.३८ अंकको गिरावट देखियो भने उत्पादनमूलक समूहमा १२.४३ अंकको गिरावट भयो । 

यो दिन बैंकिङ समूह १२.२७ अंकले बढ्यो भने विकास बैंक समूहमा ११.८८, निर्जीवन बिमा समूहमा ४९.४३, जीवन बिमा समूहमा ७.७७, जलविद्युत समूहमा १.९४, बित्त समूहमा ५.७२, माइक्रोफाइनान्स समूहमा ९.६ र अन्य समूहमा ५.३२ अंकको बढोत्तरी भयो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६५ कम्पनीका ८ लाख ६२ हजार ३ सय ६८ कित्ता सेयर २५ करोड २२ लाख ९१ हजार ५ सय ४० रुपैयाँमा किनबेच भयो । 

यो दिन मेगा बैंकले सबैभन्दा बढी १ करोड ६४ लाख बढीको कारोबार गर्यो । यस्तै, एनआइसी एशिया बैंकले १ करोड ५१ लाख, एनएमबी बैंकले १ करोड ३८ लाख, जनता बैंक नेपालले १ करोड २० लाख, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड १६ लाख बढीको कारोबार गरे । 

समीट माइक्रोफाइनान्सको ९० लाख बढीको कारोबार भएको यो दिन नेपाल बैंकले ८५ लाख, प्रभू बैंकले ७९ लाख, एनसीसी बैंकले ७७ लाख र माछापुच्छे बैंकले ७१ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन यूनाइटेड फाइनान्सका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ८ प्रतिशतको हाराहारीमा बढ्यो । सिन्धु विकास बैंकको सेयर मूल्यमा ५.१७ प्रतिशतको बढोत्तरी भयो । 

यो दिन पञ्चकन्या माई हाइड्रोपावर लिमीटेडका सेयरधनीले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्य ५.५५ प्रतिशतले घट्यो ।