काठमाण्डौ । ‘बनको बाघले खाओस् कि नखाओस्, मनको बाघले खाएको’ नेपाली उखान सेयर बजारका केही लगानीकर्ताको सवालमा ठ्याक्कै मेल खान पुुगेको छ । अर्थात, बजारको वास्तविकता नबुुझी, केही चलखेल गर्ने समूहको दवाब र प्रभावमा परेर र समग्रमा अत्तालिएर सेयर बिक्री गर्नेको हतारोले साताको अन्तिम कारोबार दिन पनि बजारमा दोहोरो अंकको गिरावट ल्याइदियो । 

कारोबार रकममा सामान्य गिरावट आयो भने नेप्से परिसूचक १८.३३ अंकले घट्न पुुग्यो । बुधबार पनि बजारमा दोहोरो अंककै गिरावट थियो । यसरी २ दिनको अवधिमा नेप्से परिसूचक झण्डै ३५ अंकले घटिसकेको छ । 

बजारमा कारोबार रकम र परिसूचक एकसाथ घट्नुुलाई कतिपय विश्लेषकले भविष्यका लागि ‘राम्रो संकेत’ मान्दैनन् । बुधबार यस्तो संकेत नदेखिए पनि बिहीबारको अवस्थाले भने कतिपय लगानीकर्तामा संशय पैदा गरिदिएको छ । बिहीबारको ट्रेण्ड आउँदो साता निरन्तर रहे यसले बजारका लागि आगामी दिन ‘अशुुभ’ हुने संकेत गर्ने एक विश्लेषक बताउँछन् । तर, आधारभूत रुपमा घट्नुपर्ने कारणहरु नरहेको भन्दै केही अगुवा लगानीकर्ता चाहि यस्तो बेलामा डर, त्रास, दवाब र प्रभावमा नपरी, हल्लाको पछि नलागी धैर्य भएर बस्न आग्रह गरिरहेका छन् । 

त्यसो त बजारलाई सुनियोजित रुपमा घटाउने गिरोहको चलखेल समेत रोकिएको छैन । धितोपत्र बोर्ड र नेप्सेकै कतिपय कर्मचारीहरुको मिलेमतोमा केही गिरोहले वर्षौदेखि बजारलाई आफू अनुकुल घटाउने र मूल्य घटेको मौका पारेर राम्रा कम्पनीको सेयर खरीद गर्ने खेल खेल्दै आएका छन् । यो खेललाई निस्तेज पार्न अहिलेसम्म कसैले सकेको छैन । बजार निरन्तर घट्नुको एउटा प्रमुख कारण अनावश्यक चलेखल पनि रहेको विश्लेषकहरु बताउँछन् । 

एक अगुवा लगानीकर्ताको भनाईमा लगानीकर्ताहरुमा सेयरको आपूर्ति बढी भयो भन्ने भ्रम फैलाइएको छ, जसले बजारलाई उधो धकेल्न बल दिइरहेको छ । यस्तै, बैंकहरुको ८ अर्ब पूँजी पुुगेपछि केही हुँदैन भन्ने नकारात्मक सोंच, पूँजी बढेसँगै प्रतिसेयर आम्दानीमा आएको गिरावट, केही म्युुचुुअल फण्डले नगद लाभांशका लागि धमाधम सेयर बेच्न थालेको अवस्था लगायतले बजार घट्न पुुगेको छ । 

ती लगानीकर्ताको भनाईमा आउँदो दशैंका लागि विगत ८ महिनामा बढेको मूल्यको मुनाफा बुक गर्नतर्फ लाग्दा समेत बजारमा बिक्री चाप देखिएको छ । ‘एउटा कारण चाहि सिजनल इफेक्ट पनि हुनसक्छ ।’ ती अगुवा लगानीकर्ताले बिजशालासँग भने–‘मुख्य रुपमा लगानीकर्ता बढी अत्तालिएका छन्, अझै घट्छ भन्ने डरले समेत बजार घटाउन काम गरेको छ, तर यस्तो बेलामा अत्तालिनुु हुँदैन, धैर्य गर्नुपर्छ ।’ यसपटक दशैं केही अगाडि परेका कारण पर्वका लागि आवश्यक खर्च जोहो गर्न समेत प्रोफिट बुक गर्नेहरुको संख्या बढिरहेको तर्कलाई पनि नकार्न सकिन्न ।  

बिहीबारको बजारमा के–के भयो ?
साताको अन्तिम कारोबार दिन बिहीबार सबै समूहको सूचकमा रातो पोतियो । बैकिङ समूह १६.१५, बिमा समूह १४७.१, विकास बैंक समूह २४.६६, होटल समूह ११.१३, जलविद्युत समूह १७.३१, बित्त समूह १०.२३, उत्पादनमूलक १.४१ र अन्य समूह १.७४ अंकले घटे । 

‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्समा बिहीबार पनि ३.६६ अंकले घट्यो । बुधबार पनि यस्तो इण्डेक्स ३ अंक भन्दा बढीले घटेको थियो । फ्लोट इण्डेक्समा १.३७ अंकको गिरावट आयो । 

यो दिन बजारमा कुल १ सय ६० कम्पनीका १५ लाख ७२ हजार ३२ कित्ता सेयर ८४ करोड ९१ लाख १५ हजार ३ सय १९ रुपैयाँमा किनबेच भयो । 

यो दिन आर्थिक वर्ष २०७३/७४ को नाफाबाट सबैभन्दा पहिला लाभांश घोषणा गर्ने एनआइसी एशिया बैंकको सेयरमा लगानीकर्ता झुम्मिए । यो कम्पनीले घोषणा गरेको २० प्रतिशत बोनस सेयर र त्यसलाई स्वीकृत गर्ने वार्षिक साधारणसभाको प्रयोजनार्थ १६ गतेदेखि बुक क्लोजको मिति तोकेकोले बोनस सुरक्षित गर्ने अन्तिम दिन रहेकोले यो बैंकको मात्रै ६ करोड ३० लाख बढीको सेयर किनबेच भयो । 

यस्तै, आरएसडिसी लघुवित्तले ३ करोड ८२ लाख, छिमेक लघुवित्त विकास बैंकले ३ करोड ७५ लाख, निर्धन उत्थान बैंकले २ करोड ८८ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले २ करोड ८१ लख बढीको कारोबार गरे । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ५ स्थान वाणिज्य बैंक, ३ स्थान लघुुवित्त कम्पनी र २ स्थान बिमा कम्पनीले कब्जा गरे । 

कमाउने र गुमाउनेहरु
बजार दोहोरो अंकले घट्दा कमाउनेहरु खासै देखिएनन् । जनरल फाइनान्स र निर्धन उत्पादन बैंकको सेययर मूल्य साढे ४ प्रतिशतको हाराहारीमा मात्र बढ्यो । सबैभन्दा बढी यिनै दुुई कम्पनीले कमाएका देखियो । 

सिद्धार्थ इनभेष्टमेन्ट ग्रोथ स्कीम १ को इकाई मूल्यमा १० प्रतिशतको पहिरो गयो । भार्गव विकास बैंकका सेयरधनीले समेत ६ प्रतिशत भन्दा बढीको दरले सम्पत्ति गुमाए ।