काठमाण्डौ । लामो समयपछि सेयर बजारमा कारोबार सुस्ताएको थियो। दैनिक कारोबार २ अर्ब रुपैयाँ मुनि नै हुँदै आएको थियो। 

आज बजार खुलेको १ घन्टामै १ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। हिजो दिनभरको कारोबारमा २ अर्ब बढीको कारोबार भएको थियो। 

अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएसँगै सेयर बजारमा सुधार आएको छ। नवनियुक्त अर्थमन्त्रीप्रति लगानीकर्ताको विश्वास र आशा बढ्दा बजार सूचक र कारोबारमा सुधार भएको देखिन्छ। 

यो समाचार तयार पार्दा (१२ बजे)सम्म बजारमा १ अर्ब ८ करोड रुपैयाँ बढीको कारोबार भइसकेको छ। यो अवधिमा ३१ लाख ४१५ कित्ता सेयर किनबेच भएका छन्। 

अहिलेसम्म नेप्से परिसूचक ४१.४१ अंकले बढेर १९६५.५० को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.६१ अंकले बढेर ३८३.६ विन्दुमा उक्लिएको छ। 

यो बेलासम्म मल्टीपर्पस फाइनान्स, श्रृजनशील लघुवित्त र कालिकाका पावरको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। मल्टीपर्पस फाइनान्स र श्रृजनशील लघुवित्तको सेयरभाउमा १० प्रतिशत र कालिकाको पावरको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा बढेर पोजिटिभ सर्किट लागेको हो। 

अहिलेसम्म एनआईसी एसिया बैंकको उच्च कारोबार भएको छ। यो बैंकको ५ करोड १२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।