-अर्जुन तिमिल्सिना
काठमाण्डौ । सेयर बजारमा हुने खरीद र बिक्री सन्तुलनका लागि अक्सन मार्केट र सेटलमेन्ट ग्यारेण्टी फण्ड जस्ता प्रडक्टहरु तत्काल ल्याउनुपर्नेमा नेपाल स्टक ब्रोकर एशोसिएसन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटाले जोड दिएका छन् । 

बिजशालासँग कुरा गर्दै अध्यक्ष सापकोटाले नेपालको पूँजीबजारको विकासका लागि अक्सन मार्केट र सेटलमेन्ट ग्यारेण्टी फण्ड जस्ता नयाँ प्रोडक्टहरु यथाशीघ्र ल्याउनुपर्ने बताएका हुन् । 

‘अहिले खासगरी खरिद तथा बिक्री सन्तुलनका लागि पनि अक्सन मार्केट र सेटलमेन्ट ग्यारेण्टी फण्ड नेपालको बजारमा आउनुपर्छ । अक्सन मार्केटको अभावमा धेरै लगानीकर्ताहरु क्लोजआउटमा परेका छन् ।’ सापकोटाले भने–‘यदि अक्सन मार्केट नेपालको बजारमा हुन्थ्यो भने क्लोजआउटको समस्या हुने थिएन । कुनै लगानीकर्ताले भूलवश  क्लोज आउट परेमा अक्सन मार्केटबाट सेयर किनेर सेटलमेन्ट हुन्छ।’ 

हाल नेपालका ब्रोकरहरुमा सेटलमेन्ट फण्ड पनि निकै कम छ  । ‘करिब ६-७ करोडको मात्रै होला । यो निकै कम हो, तर पनि ब्रोकरहरुले सेटलमेन्ट गरेकै छन् ।’ सापकोटाले यसलाई पनि व्यवस्थित गरिनुपर्नेमा जोड दिएका छन् । 

उनले अक्सन मार्केट र सेटलमेन्ट फण्ड जस्ता प्रडक्ट आएमा दोस्रो बजारमा खरिदबिक्रीको सन्तुलन पनि मिल्ने दाबी गरे । 

बजार विकासका लागि आवश्यक नयाँ प्रडक्टका लागि नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)ले अग्रसरता लिनुपर्ने र त्यसमा धितोपत्र बोर्डले सहजीकरण गर्नुपर्ने उनको भनाई छ । ‘विदेशको पूँजीबजारमा यस्ता अनेकौ प्रडक्टहरु आइरहेका हुन्छन्, तर हाम्रोमा भने लामो समयदेखि यस्तो काम भएको छैन ।’ उनले बिजशालासँग भने–‘नेप्से, बोर्ड र अन्य सरोकारवालाहरुले यो विषयमा गम्भीर भएर सोच्न आवश्यक छ ।’ 

आफूले यो विषयमा नेप्से नेतृत्वसँग केही दिनभित्रै छलफल गर्न लागेको समेत उनले जानकारी दिए । 

अर्को एक प्रसङ्गमा कुरा गर्दै सापकोटाले नयाँ टीएमएस छिट्टै आउने पनि जानकारी दिए ।