काठमाण्डौ । सरकारको तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार संघीय संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/७६ को बजेटलाई पूँजीबजारको क्षेत्रमा लगानी गर्नेहरुले बनाएका विभिन्न संघसंगठनका अधिकारीहरुले स्वागत गरेका छन् । 

उनीहरुले बजेटमार्फत सेयर बजारबाट भ्याटको अन्यौल अन्त भएको र नाफा कमाएको अवस्थामा तिर्ने कर केही बढ्दैमा अत्तालिनुपर्ने अवस्था नरहेको बताएका छन् । लगानीकर्ताका एक नेताले त पूँजीगत लाभकर बढ्यो भनेर माफियाहरुले सुनियोजित हल्ला फैलाएका र त्यस्ता हल्लाको पछाडि नलाग्न आम लगानीकर्तालाई आग्रह समेत गरेका छन् । उनीहरुले बजेटले पूँजीबजारलाई प्राथमिकता दिएको उल्लेख गर्दै अब बजार बढ्ने दाबी समेत गरेका छन् ।  

बजेटको बिषयमा लगानीकर्ताका नेताले के भने ? हेरौं:

अम्बिका पौडेल, अध्यक्ष-नेपाल इन्भेष्टर्स फोरम
बजेट समग्रमा धेरै राम्रो र सकारात्मक छ । सबै क्षेत्रलाई राम्रोसँग समेटेको छ र यो बजेट कार्यान्वयनयोग्य पनि छ भन्ने मलाई लागेको छ । 

बजेटले मार्केटलाई सकारात्मक प्रभाव पार्ने देखेको छु ।  बैंक, बिमा, धितोपत्र ऐन नियमावलीमा संसोधनको कुरा आएको छ, हेज फण्डको कुरा आएको छ, हाइड्रोपावर कम्पनीका लागि नियनकारी निकाय बनाउने कुरा आएको छ । बैंक तथा बित्तीय संस्था हाबी बजारमा १ अर्ब बढीका उत्पादनमूलक क्षेत्रलाई समेत आइपीओ जारी गरेर ल्याउने भनिएको छ । बिमा बिस्तार तथा सबै नेपालीको बैंक खाता भन्ने कार्यक्रमले बिमा कम्पनी र बैंकहरुको कारोबार बढ्नेछ । यसले नागरिकसँग भएको पैसा कसैको बाकसमा कैद हुने दिनको अन्त गरिदिनेछ । बैंकको खातामा आउनेछ त्यस्तो पैसा, त्यसले आर्थिक क्रियाकलापलाई बुस्ट गरिदिन्छ । 

अर्को, सेयरमा पूँजीगत लाभकरको कुरा आएको छ । साढे ७ प्रतिशत नेपाल सरकारले अन्तिम करको रुपमा लिएको हकमा यसलाई पनि सकारात्मक रुपमै लिनुपर्छ । किनभने सबै सेयर लगानीकर्ताले आर्थिक विवरण बुझाउन सक्दैनन्, त्यसलाई अन्तिम करको रुपमा मानेर व्यवहार गरिदिएको अवस्थामा यो पनि सकारात्मक नै छ । 

समग्र भोलिका दिनमा सिस्टम स्थापनाका लागि यो बजेटले सहयोग गर्छ भन्ने हाम्रो बुझाई हो । लगानीकर्ता डराउनुपर्ने अवस्था छैन । 

नवराज सुवेदी, अध्यक्ष: नेपाली पूँजीबजार लगानीकर्ता संघ
अर्थमन्त्रीजीप्रति जुन नकारात्मक टिप्पणी गरिएको थियो र भ्रम तथा अफबाह फैलाइएको थियो, त्यो कुरा बजेटले चिरिदिएको छ । उहाँ पूँजीबजारप्रति निकै गम्भीर बन्नुभएको मैले पाएको छु । बजेटमार्फत १ अर्ब बढीको कम्पनीलाई बजारमा सूचिकृत गराउने, हेज फण्ड, डिवेञ्चरजस्ता अन्तराष्ट्रिय बजारमा चलेका औजारहरु यहाँ पनि ल्याउने कुरा गर्नुभएको छ । यो सबै कुराले के पनि इंगित गर्छ भने उहाँ हाम्रो पूँजीबजारलाई पूर्वाधारयुक्त र प्रविधिमैत्री बजारको रुपमा विकास गर्न र अन्तराष्ट्रिय स्तरको बनाउन उद्यत हुनुहुन्छ । त्यसकारण उहाँहरुको प्राथमिकताको क्षेत्रमा पूँजीबजारमा परेको देखियो । राष्ट्रिय पूँजीको निर्माण समेत पूँजीबजारबाटै गर्ने भन्नेसम्मको घोषणा गरिनु बजारका लागि सुखद पक्ष हो । 

राज्यलाई समृद्ध बनाउने हो भने कमाउनेको योगदान हुनुपर्छ । हिजोको दिनमा ९५ प्रतिशत लगानीकर्ताले पाउथे भने अब २.५ प्रतिशत बढी राज्यलाई योगदान गर्दा के फरक पर्छ ? बजारमा पूँजीगत लाभकर ५ प्रतिशतबाट ७.५ प्रतिशत भयो, यस्तो करमा ५० प्रतिशतको वृद्धि भयो भनेर हल्ला फैलाउने र लगानीकर्तालाई आतकिंत बनाउने खेल सुरु भइसकेको छ । यी सबै माफिया हुन््, यीविरुद्ध सरकारले एक्सन लिनैपर्छ र लगानीकर्ता समेत यस्ता माफियादेखि सजग बन्नुपर्छ । तर, क्यापिटल गेन ट्याक्स बढेकै कारण अत्तालिनुपर्ने अवस्था छैन । 

तारा फूल्लेल, उपाध्यक्ष-सेयर लगानीकर्ता संघ
पूँजीगत लाभकर भनेको कमाएपछि तिर्ने न हो, यसमा धेरै अत्तानिुपर्ने कारण नै छैन । हिजोको दिनमा यस्तो कर यो भन्दा बढी हुँदा पनि हामीले तिरेकै हो नि, पछि न घटेर ५ प्रतिशतमा झरेको थियो । बजेटले पूँजीबजारलाई निकै राम्रो सम्बोधन गरेको पाएको छु । यो मेरो व्यक्तिगत धारणा हो । बजेटमा लगानीकर्ता नकारात्मक वा निराश बन्नुपर्ने कारण देखेको छैन । कारोबारमा अनिवार्य कर लगाइएको होइन भन्ने कुरा लगानीकर्ताले बुझ्न आवश्यक छ । तर, भोलिका दिनमा हामी संस्थागत रुपमा सिजीटी(पूँजीगत लाभकर)को दर घटाउन पहल समेत गर्नेछौ । समग्रमा बजेट बजारका लागि सकारात्मक र सुखद छ । पूँजीबजारमा भ्याटको हल्लाले लगानीकर्ता ग्रसित र त्रसित थिए, कम्तीमा बजेटले त्यो अन्यौलको बादल फटाइदिएको छ ।