काठमाण्डौ । सेयर दलालहरुको छाता संगठन स्टक ब्रोकर एशोसिएसन अफ नेपालले क्लोजआउटमार्फत राफसाफ गर्ने अहिलेको व्यवस्था भरसक हटाउन र लागू नै गर्नुपरे पनि खरीदकर्ताले प्राप्त गर्ने रकमलाई आकस्मिक लाभ मान्ने व्यवस्था खारेज गर्न माग गरेको छ । 

अर्थ मन्त्रालय अन्तर्गतको नेपाल राजस्व परामर्श समितिलाई आगामी आर्थिक वर्षको बजेटका लागि २१ बुँदे सुझाव पेश गर्दै एशोसिएसनले यस्तो माग गरेको हो । 

एशोसिएसनले धितोपत्र हस्तान्तरण गर्न नसक्दा त्यस्तो कारोबारलाई सिधै क्लोजआउटमार्फत राफसाफ गर्ने हालको व्यवस्थाको सट्टा अक्सन मार्केटको सञ्चालन गरी खरीदकर्ताले खरिद गरेको धितोपत्र  पाउने सुनिश्चितता गर्ने व्यवस्था ल्याउन सुझाव दिएको छ । तर, अहिलेकै व्यवस्था यथावत राख्दा पनि कर लगाउने सिस्टम वैज्ञानिक नभएको उसको तर्क छ । एशोसिएसनले कुनै कारोबार क्लोज आउटमार्फत राफसाफ गर्दा खरिदकर्ताले प्राप्त गर्ने २० प्रतिशत अतिरिक्त रकमलाई आकस्मिक लाभ मानी २५ प्रतिशत कर कट्टी गर्ने ब्यवस्था हाल प्रचलनमा रहेको र त्यसरी प्राप्त हुने २० प्रतिशत रकम आकस्मिक लाभ नभई खरिद गरेको धितोपत्र  प्राप्त नहुने हँुदा उपलब्ध गराईएको क्षतिपूर्ति रकम रहेको भनेको छ । ‘तसर्थ त्यसमा कर लगाउन  जरुरी नरहेको अथवा त्यस्तो करको दर पूँजीगत लाभकरको बराबर कायम गर्दा न्यायोचित हुने देखिएको ।’ सुझावमा भनिएको छ । 

ब्रोकरहरुले नेपाल स्टक एक्सचेञ्जमा बिदेशी रणनीतिक साझेदार भित्र्याई उच्च प्रबिधि, मानव संसाधन तथा लगानी औजारहरुको हस्तान्त्रण÷विकास गरी दोस्रो बजारको विकास तथा विविधिकरणलाई गति प्रदान गर्न समेत सुझाव दिएका छन् । 

धितोपत्र दलाल व्यवसायीले १५ प्रतिशत अग्रिम कर बुझाउँदै आइरहेको हुँदा हाल संस्थागत करको दर ३० प्रतिशतबाट घटाई २५ प्रतिशत कायम गर्न पनि माग गरिएको छ । 

यस्तै, दुर्गम क्षेत्रमा धितोपत्र दलाल ब्यावसायीको शाखा वा एजेन्सी वा सबब्रोकर वा आधिकारीक प्रतिनिधिमार्फत बजार पहुँच बृद्धि गर्न वित्तीय वा करका माध्यमबाट प्रोसाहन गर्ने नीति तर्जुमा गर्नुपर्नेमा एशोसिएसनको जोड छ । 

एशोसिएसनले बुझाएको सबै सुझाव यस्तो छः