काठमाण्डौ । सेयर बजारले बजेटलाई रातो झण्डा देखाइदिएको छ । 

लगानीकर्ताहरुलाई पूँजीगत लाभकरको भार थोपरिएपछि यसको नकारात्मक प्रभाव बजारमा देखिएको हो । लगानीकर्ताका संघसंस्थाका प्रतिनिधि, ब्रोकरहरुले विज्ञप्ति नै जारी गरेर बजेटले पूँजीबजार बिस्तारका लागि सकारात्मक प्रभाव छाड्नसक्ने बताए पनि कतिपय लगानीकर्ताले कुरा नबुझ्दा र कतिपय हल्लाको पछाडि लाग्दा बजार ४.९४ अंकले घटेर बन्द भएको हो । 

बजार घटे पनि कारोबार रकम भने बढेको छ । १० अंकसम्मको बजारको घटबढलाई सामान्य मान्ने हो भने कारोबार रकमको साथ हिजोभन्दा मजबुत भएको देखिन्छ । यसलाई सकारात्मक रुपमा लिनुपर्छ । 

ब्रोकर कमिसनमा भ्याट नलाग्ने र समग्र सेयर बजारसँग जोडिएको करको अन्यौल समेत हटेको अवस्थामा लगानीकर्ता भने त्यति धेरै ढुक्क हुन सकेका देखिएन । यसले समेत बजारमा केही नकारात्मक प्रभाव पारेको हो । तर, करको अन्यौल हटेको र पूँजीबजार बिस्तार हुने कार्यक्रम समेत बजेटमा प्रशस्तै परेको अवस्थामा लगानीकर्ता धेरै अत्तालिनुपर्ने अवस्था देखिदैन । 

बुधबार बजारमा ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स १.२५ अंकले घट्यो । समग्र कारोबार मापक फ्लोट इण्डेक्समा चाहि ०.३६ अंकको गिरावट देखियो । 

यो दिन बिमा, बित्त र माइक्रोफाइनान्स बाहेकका समूहको सूचकमा बढोत्तरी भयो भने अन्य सबै सूचकमा रातो पोतियो । 

बिमा समूह ११.५१ अंकले बढ्यो भने बित्त समूह १.३१ अंक र माइक्रोफाइनान्स समूह ४.३८ अंकले वृद्धि भयो । 

यो दिन बैंकिंग समूह ७.५४ अंकले घट्यो । यस्तै, विकास बैंक समूह ७.२९ अंक, जलविद्युत समूह ६.७२ अंक, होटल समूह ४.९६ अंक, व्यापार समूह ४.७३ अंक, उत्पादनमूलक समूह ८.७६ अंक र अन्य समूह ०.७९ अंकले घटे । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६४ कम्पनीका ७ लाख ८९ हजार ३ सय ९९ कित्ता सेयर ४३ करोड ९० लाख ८३ हजार ७ सय २१ रुपैयाँमा किनबेच भयो । 

यो दिन साना किसान विकास बैंक लिमीटेडले सबैभन्दा बढी ४ करोड ४५ लाख बढीको सेयर कारोबार गर्यो । सानिमा हाइडोले २ करोड २८ लाख, प्रिमियर इन्स्योरेन्सले १ करोड ९५ लाख, नेपाल इन्स्योरेन्सले १ करोड ६० लाख, प्रूडेन्सियल इन्स्योरेन्सले १ करोड २३ लाख, शिखर इन्स्योरेन्सले १ करोड ५ लाख, एनएमबी बैंकले १ करोड ५ लाख, नेपाल बैंकले ९६ लाख बढीको कारोबार गरे । यस्तै, स्वदेशी लघुवित्तले ९३ लाखको हाराहारी तथा नेरुडे लघुवित्तले ९१ लाखको हाराहारीमा कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन उन्नति माइक्रोफाइनान्सले सबैभन्दा धेरै कमायो । यो कम्पनीको सेयर मूल्य ४ प्रतिशतले वृद्धि भयो । यस्तै, नयाँ नेपाल लघुवित्त विकास बैंक, साना किसान विकास बैंक र तारागाउँ रिजेन्सी होटलको मूल्य समेत ४ प्रतिशतको हाराहारीमा वृद्धि भयो । 

यो दिन पनि मेगा बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले घट्यो ।