काठमाण्डौ । बजेटको व्यग्र प्रतिक्षामा बसेका लगानीकर्ताहरुले सेयर बिक्री बढाउँदा आइतबार नेप्से परिसूचकमा १७.८१ अंकको गिरावट भएको छ । 

नेप्सेमा पछिल्ला केही दिनको अवधिमा आएको यो निकै ठूलो गिरावट हो । 

नेप्से परिसूचक १३०० को विन्दूमा सीमित बन्दा बिक्री चापका कारण अधिकांश समूहको सूचकमा रातो पोतिएको छ । 

लगानीकर्ताहरु मंगलबार अपरान्ह ४ बजे संसदमा प्रस्तुत हुने बजेटको प्रतिक्षामा छन् । सेयर कारोबार, ब्रोकर कमिसन लगायतमा भ्याट लाग्ने बिषयको अन्यौलता बजेटले चिर्नेछ । सरकार करको दर र दायरा बढाउने रणनीतिमा रहेकोले सेयर बजारमा पनि कुनै न कुनै खालको कर लाग्छ भन्ने कुरामा धेरै लगानीकर्ता ढुक्कजस्तो देखिएका छन् । तर, सेयर बजारमा कसरी कर लाग्छ वा केमा लाग्छ भन्ने बिषयको अन्यौल कायमै रहेको हो । यसले समेत अन्यौलको अवस्थामा सेयर बेचेर बजारबाट निस्किने लगानीकर्ता आज बढेका देखिएको छ । 

बजेटको प्रतिक्षा तथा त्यसमार्फत कर लाग्ने सूचना बाहिर आएका कारण केही लगानीकर्ताहरुले सेयर बिक्री बढाएका देखिएको छ । उनीहरुले ‘क’ वर्गका कम्पनीका सेयर बिक्रीमा निकै धेरै सक्रियता देखाएका कारण सेन्सेटिभ इण्डेक्स ३.७८ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स १.३ अंकले घटेको छ । 

यो दिन बैंकिङ समूह १३.२२ अंकले घटेको छ । यस्तै, बिमा समूहको सूचक १२२.७९ अंक, विकास बैंक १३.११, माइक्रोफाइनान्स समूहको सूचक २७.९२ अंकले घटेको छ । 

होटल समूह ४१.४८ अंक, जलविद्युत समूह ३०.०५ अंक, बित्त समूह ४.२६ अंक, उत्पादनमूलक ०.४७ अंक र अन्य समूह १२.९१ अंकले घटेका छन् । यो दिन व्यापार समूह भने ०.८४ अंकले बढेको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन दोहोरो अंकले नेप्से परिसूचक घटे पनि कारोबार रकममा चाहि बढोत्तरी भएको छ । १ सय ६१ कम्पनीका १० लाख २३ हजार ७ सय ३६ कित्ता सेयर ३९ करोड ६८ लाख ६७ हजार ७ सय ५२ रुपैयाँमा किनबेच भएको छ । 

यो दिन सबैभन्दा बढी ग्लोबल आईएमई बैंकले ४ करोड ६० लाख बढीको कारोबार गरेको छ । यस्तै, प्रभू इन्स्योरेन्सले २ करोड ७९ लाख कारोबार गरेको बजारमा सिद्धार्थ बैंकको १ करोड ९५ लाख बराबरको संस्थापक सेयर किनबेच भयो । 

यस्तै, नेपाल बैंकले १ करोड ७० लाख, एभरेष्ट बैंकले १ करोड ३५ लाख, राष्ट्रिय बिमा कम्पनी लिमीटेडले १ करोड १७ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड ४ लाख, स्वरोजगार लघुवित्तले ७६ लाख, स्ट्याण्डर्ड चार्टर्डले ६५ लाख बढीको कारोबार गरे । 
 
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन रिलायन्स फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ७.०२ प्रतिशतले वृद्धि भयो । रिडी हाइड्रोपावरको मूल्य समेत ३.२३ प्रतिशतले वृद्धि भयो । 

यो दिन प्रोग्रेसिभ फाइनान्सले सबैभन्दा धेरै गुमायो । यो कम्पनीको सेयर मूल्य ६ प्रतिशतको हाराहारीमा घट्यो ।