काठमाण्डौ । आगामी आर्थिक वर्षको बजेट शनिबार दिउँसो ४ बजे सार्वजनिक गरिने भएको छ। 

अर्थ मन्त्रालयका अनुसार बजेट अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको हल सिंहदरबारबाट सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ। प्रतिनिधिसभा विघटन भएकाले नयाँ संविधान आएपछि पहिलोपटक बजेट अध्यादेशमार्फत ल्याउन लागिएको हो। 

सरकारले १५ दिनअघि नीति तथा कार्यक्रम ल्याउनुपर्ने कानुनी व्यवस्था छ। तर योपटक राजनीति तरलताका कारण नीति तथा कार्यक्रम आएन।

प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि सामाजिक सुरक्षा भत्ता र राष्ट्रसेवक कर्मचारीको तलब बढाउने घोषणा गरिसकेका छन्। त्यसैले आगामी आर्थिक वर्षको बजेट बढी पपुलर खालको आउने अनुमान गरिएको छ। सबैलाई रिझाउन खोज्दा बजेटको आकार भने बढ्ने देखिन्छ।

बजेटअघिको आर्थिक सर्वेक्षण भने शुक्रबार दिउँसो २ बजे सार्वजनिक हुने भएको छ। आर्थिक सर्वेक्षण भने अर्थ मन्त्रालयमै सार्वजनिक गर्ने कार्यक्रम रहेको मन्त्रालय स्रोत बताउँछ।