काठमाण्डौ । साताको अन्तिम कारोबार दिनको बजारमा गिरावट आएको छ । यो दिन नेप्से परिसूचक ८.८२ अंकले घटे पनि कारोबार रकम चाहि केही बढेको छ ।

बुधबार थोरै अंकले बढेको बजारमा थोरै भए पनि प्रोफिट बुक गर्ने सर्टटर्म कारोबारी हाबी हुँदा बजारमा करेक्सन देखिएको हो । 

यो दिन ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्समा २.१८ अंकको गिरावट भएको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स ०.७१ अंकले घट्यो । 

यो दिन उत्पादनमूलक समूहमा ४९.५६ अंकले बढोत्तरी भएको छ भने बाँकी सबै समूहको सूचक घटेको छ । 

यो दिन बैंकिङ समूह ९.४३ अंकले घटेको छ भने होटल समूहमा ३६.९४ अंक, विकास बैंक समूहमा ३.६२ अंक, जलविद्युत समूहमा ११.०६ अंक, बित्त समूहमा २.२३ अंक, जीवन बिमा समूहमा १२.३९ अंक, निर्जीवन बिमा समूहमा ४०.२४ अंक, बित्त समूहमा २.२३ अंक, माइक्रोफाइनान्स समूहमा ६.४५ अंकको गिरावट आएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५६ कम्पनीका ९ लाख ४८ हजार ५ सय ९३ कित्ता सेयर २७ करोड ७१ लाख ८२ हजार ८ सय ९८ रुपैयाँमा कारोबार भयो । 

यो दिन सबैभन्दा बढी प्रभू बैंकले ३ करोड ६३ लाख बढीको कारोबार गर्यो । कुमारी बैंकले २ करोड ६२ लाख बढीको कारोबार गरेको यो दिन एनआइसी एशिया बैंकले १ करोड १४ लाख बढीको कारोबार गरेको छ । 

यो दिन सिद्धार्थ बैंकले ९८ लाख, जनता बैंक नेपालले ९७ लाख, माछापुच्छे बैंकले ९६ लाख, मेगा बैंकले ८२ लाख, बुटवल पावर कम्पनीले ८१ लाख, एनएमबी बैंकले ७५ लाख र नेपाल टेलिकमले ७१ लाख बढीको कारोबार गर्यो । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन छ्याङ्दी हाइड्रोपावर लिमीटेडका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ६.२५ प्रतिशतले बढ्यो । 

यो दिन वरुण हाइड्रोपावरका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ६.४ प्रतिशतले घट्यो ।