काठमाण्डौ । आर्थिक वर्ष सकिनै लाग्दा राम्रा कम्पनीहरुले राम्रो लाभांश दिनसक्ने आँकलनमा बजारमा खरीदको उच्च चाप पर्न थालेको छ । खरीद चापसँगै राम्रा कम्पनीको सेयर मूल्य बढेर लगानीकर्ता मालामाल भएका छन् भने कारोबार रकम पनि १ अर्बको उचाईमा पुुगेको छ । 

मंगलबार नेप्से परिसूचक ९.७९ अंकले बढेर १५८५.०१ अंकको उचाईमा पुुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबारमा सुधार भएका कारण सेन्सेभिट इण्डेक्स १.९१ अंकले बढेको छ भने समग्र कारोबारमा पनि सुधार हँुदा फ्लोट इण्डेक्स ०.७३ अंकले बढेको छ । 

यो दिन सबै समूहको परिसूचक हराभरा भएको छ । वाणिज्य बैंक र बिमा समूहको सूचक क्रमशः ७.९५ र ६०.७९ अंकले वृद्धि भएको छ । यस्तै, विकास बैंक, बित्त, जलविद्युत, होटल समूहमा क्रमशः १३.४८, ७.५२, १५.८ र ३५.२८ अंकको बढोत्तरी भएको छ । उत्पादनमूलकमा ०.६८ अंकको वृद्धि देखिएको छ भने अन्य समूह २.३१ अंकले वृद्धि भएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
मंगलबार बजारमा १ सय ४९ कम्पनीका १९ लाख ३० हजार ७ सय ४२ कित्ता सेयर ९९ करोड ६३ लाख ३० हजार ४ सय ५४ रुपैयाँमा किनबेच भयो । अधिक कारोबार हुनुुमा नबील बैंकको संस्थापक सेयरको महत्वपूर्ण योगदान रह्यो । यो कम्पनीको संस्थापक सेयर मात्रै २४ करोड ६१ लाख बढीको किनबेच भयो । 

यस्तै, नेशनल लाइफ इन्स्योरेन्सको समेत ९ करोड ७५ लाख बढीको संस्थापक सेयर किनबेच भयो । नेपाल इन्भेष्टमेन्ट बैंकले ४ करोड ९४ लाख बढीको कारोबार गरेको बजारमा नेपाल लाइफ इन्स्योरेन्सले ४ करोड ८९ लाख बढीको कारोबार गर्यो । एनसीसी बैंकको ४ करोडको हाराहारीमा संस्थापक सेयर किनबेच भयो । यस्तै, प्रभूू बैंकको समेत २ करोड ७१ लाख बढीको संस्थापक सेयर समेत बजारमा कारोबार भयो । एनसीसी बैंकले २ करोड ४२ लाख तथा सनराइज बैंकले २ करोड बढीको कारोबार गर्यो । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ७ स्थान वाणिज्य बैंक, २ स्थान बिमा कम्पनी र बाँकी १ स्थान विकास बैंकले ओगट्यो । 

धेरै कमाउने र गुुमाउने कम्पनी
मंगलबारको बजारमा फरवार्ड माइक्रो फाइनान्स र कुुबेर मर्चेन्ट फाइनान्स लिमीटेडका सेयरधनी मालामाल भए । यी दुवै कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । 

नेशनल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै गुमायो । यो कम्पनीको सेयर मूल्यमा ९ प्रतिशत भन्दा बढीको पहिरो गयो । नागबेली लघुवित्त विकास बैंकको सेयर मूल्य समेत ४.२५ प्रतिशतले घट्यो ।