काठमाण्डौ । सेयरको अचाक्ली आपूर्ति तथा चाडपर्वको प्रभावका कारण बुधबार बजार परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । 

पछिल्लो समय बजारमा पूँजीवृद्धिको चटारोका कारण बैंक तथा बित्तीय संस्था र बिमा कम्पनीहरुले हकप्रदको बाढी नै ल्याएका छन् । यहीकारण बजारमा मागको तुलनामा सेयरको अचाक्ली आपूर्ति भइरहेको छ । जसका कारण बजार बढ्ने समयमा पनि घटिरहेको हो । 

यी बाहेक बजार घट्नैपर्ने अन्य खास कारण केही पनि छैन । बैंक तथा बित्तीय संस्था र अन्य सूचिकृत कम्पनीहरुले गत वर्ष राम्रो नाफा कमाएका कारण लाभांशको घोषणा गरिरहेका बेला बजारमा उत्साह आउनुपर्ने हो, तर त्यसको ठीक उल्टो बजारले गति लिन सकिरहेको छैन । यसको मुख्य कारण सेयरको अचाक्ली आपूर्ति नै रहेको विश्लेषक बताउँछन् । 

बुधबार नेप्से परिसूचक २.७८ अंकले घटे पनि कारोबार रकममा चाहि १० करोडको गिरावट आयो। 

यो दिन बिमा र अन्य समूहमा झिनो बढोत्तरी देखिए पनि बाँकी सबै समूहमा रातो पोतियो । बिमा समूहको सूचक ४.६ अंक तथा अन्य समूहको सूचक १.४५ अंकले बढ्न पुुग्यो । 

बैकिङ समूह २.०१, होटल समूह ३०.३८, विकास बैंक समूह ५.४२, जलविद्युत समूह २१.३, बित्त समूह १.९९ र उत्पादनमूलक ७.४४ अंकले घटे । ‘क’ वर्गका कम्पनीहरुको कारोबार घटेका कारण सेन्सेटिभ इण्डेक्स ०.४८ अंक तथा समग्र कारोबारमा समेत संकुचन आउँदा फ्लोट इण्डेक्स ०.२२ अंकले घटे ।

धेरै कारोबार गर्ने कम्पनी
बुधबार बजारमा १ सय ६० कम्पनीका १७ लाख ५४ हजार ६५ कित्ता सेयर ६२ करोड ७१ लाख ४४ हजार ८ सय ६९ रुपैयाँमा किनबेच भयो । सबैभन्दा बढी नेपाल बैंक लिमीटेडले ५ करोड ४६लाख बढीको कारोबार गर्यो । यस्तै, प्रभूू इन्स्योरेन्सले २ करोड ७९ लाख, हिमालयन पावर पार्टनर लिमीटेडले २ करोड ४ लाख बढीको कारोबार गरे । राष्ट्रिय बिमा कम्पनी लिमीटेडको १ करोड ९८ लाख बढीको संस्थापक सेयर कारोबार भएको बजारमा सिटिजन्स बैंक इन्टरनेशनलले १ करोड ९६ लाख, स्ट्याण्डर्ड चार्टर्डले १ करोड ८७ लाख, प्राइम लाइफ इन्स्योरेन्सले १ करोड ८३ लाख बढीको कारोबार गरे । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ५ स्थान बिमा कम्पनी, ३ स्थान वाणिज्य बैंक, एक स्थान जलविद्युत कम्पनी तथा बाँकी एक स्थान बिकास बैंक समूहले कब्जा गर्यो । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन सबैभन्दा बढी यूनाइटेड फाइनान्सले कमायो । यो कम्पनीको सेयर मूल्य ५.७७ प्रतिशतले बढ्यो । एभरेष्ट इन्स्योेरेन्सको मूल्य ४ प्रतिशतको हाराहारीमा बढ्न पुुग्यो । 

सबैभन्दा बढी छ्याङदी हाइड्रोपावरका लगानीकर्ताले गुमाए । यो कम्पनीको सेयर मूल्य ६.५ प्रतिशतले घट्यो । यस्तै, कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंकको मूल्यमा समेत ६.४१ प्रतिशतको गिरावट आयो ।