काठमाण्डौ । पूर्वघोषित लाभांश नेपाल राष्ट्रबैंकबाट अस्वीकृत भएको कारण देखाउँदै रद्ध गरेको ३ दिनपछि नेपाल स्टक एक्सचेञ्जले छिमेक लघुवित्त वित्तीय संस्था लिमीटेडलाई स्पष्टीकरण सोधेको छ । 

नेप्सेको सूचिकरण शाखाले पुस २३ गतेको मितिमा छिमेक लघुवित्तलाई एक पत्र पठाउँदै घोषित लाभांश रद्धको बिषयमा तथ्यगत आधार उपलब्ध गराउन निर्देशन दिएको हो । 

यो कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट लगानीकर्तालाई १८ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । 

संचालक समितिबाट भएको यो प्रस्ताव स्वीकृत गरी राष्ट्रबैंकले पुस १९ गते पत्र पठाएको भन्दै छिमेक लघुवित्तले पुस २० गते नेप्सेलाई यो विषयमा लिखित जानकारी गराएको थियो । छिमेक लघुवित्तले घोषित बोनस सेयर र नगद लाभांश बापत प्रस्ताव गरिएको रकम सञ्चित कोषमा कायम रहने गरी आर्थिक वर्ष २०७४/७५ को विवरणहरु वार्षिक साधारणसभा प्रयोजनका लागि प्रकाशन गर्न मात्र केन्द्रीय बैंकले स्वीकृति दिएको दाबी गरेको थियो ।

नेप्सेले यिनै दाबी तथा लाभांश रद्धका सम्पूर्ण तथ्यगत आधार तथा कारणहरुसहित २४ घण्टाभित्र जानकारी गराउन निर्देशन दिएको छ ।