काठमाण्डौ । बर्दियाको गुलरिया नगरपालिकास्थित बबई बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा बसेका एक व्यक्ति को मंगलबार राति मृत्यु भएको छ। क्वारेन्टाइनमा बसेका व्यक्तिको मृत्युभएसँगै बबई क्याम्पस सिल गरिएको छ। 

गुलरिया वडा नं. ९ का ५५ वर्षीय पुरुषको क्वारेन्टाइनमा राति ८ बजेतिर मृत्यु भएको बर्दियाका स्वास्थ्य अधिकृत सुनिल पाण्डेले जानकारी दिए। शव जिल्ला अस्पताल गुलरियामा ल्याई स्वाब संकलन गरी पठाउने तयारी भएको उनले बताए। 

केही दिनअघिमात्रै ती व्यक्ति र अन्य ४ जना अछाममा मजदुरी गरी फर्केका थिए। फर्किनेबित्तिकै ती व्यक्तिलाई बबई क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो। उनीसँग आएका अन्य ४ जना आधारभूत विद्यालय खैरीको क्वारेन्टाइनमा छन्। 

बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा भने ती व्यक्तिसहित १९ जना राखिएका थिए।