काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडको आईपीओ पहिलो दिन नै ३ गुणा बढीले ओभरसब्साइक्रब्ड भएको छ। 

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ आज चैत १६ गतेबाट निष्कासन गरेको छ। कम्पनीले जारी पुँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँको १० प्रतिशतले हुन आउने १८ करोड २७ लाख ९७ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १८ लाख २७ हजार ९७० कित्ता आईपीओ जारी गरेको छ। 

कुल कित्तामध्ये ४ प्रतिशतले हुन आउने ७३ हजार ११९ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने ९१ हजार ३९८ कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिसकिएको छ। बाँकी १६ लाख ६३ हजार ४५३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउँछन्। 

धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आज साँझ ६ बजेसम्म यो आईपीओमा ४ लाख २९ हजार २३५ आवेदकबाट कुल ५१ लाख १४ हजार ३७० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ३.०७ गुणाले बढी हो। 

मागभन्दा बढी आवेदन परेसँगै अब यो आईपीओको बाँडफाँड पनि गोला प्रथाबाट हुनेछ। जसअनुसार भाग्यमानी १ लाख ६६ हजार ३४५ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन् भने तिनैमध्ये थप ३ जनाले १–१ कित्ताका दरले सेयर पाउनेछन्। 

यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट र मेरो सेयरबाट आवेदन दिन सकिनेछ।

यो आईपीओको निष्कासन बन्द चैत २१ गते हुनेछ। 

यसअघि बलेफी हाइड्रोपावरले आयोजना प्रभावित सिन्धुपाल्चोक क्षेत्रका स्थानीयका लागि गत माघ २७ गतेदेखि फागुन २६ गतेसम्म आईपीओ निष्कासन गरिसकेको छ। कम्पनीले पुँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँको १० प्रतिशतले हुन आउने १८ करोड २७ लाख ९७ हजार रुपैयाँबराबरको आईपीओ आयोजना प्रभावितका लागि निष्कासन गरेको थियो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १८ लाख २७ हजार ९७० कित्ता आईपीओ निष्कासन गरेको थियो। 

यो आईपीओलाई धितोपत्र बोर्डले गत माघ ९ गते निष्कासन अनुमति दिएको थियो।