काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासनको अन्तिम दिनसम्म झन्डै १५ गुणाले ओभरसब्सक्राइब्ड भएको छ। 

यो आईपीओमा आवेदन दिने आज चैत २१ गते अन्तिम दिन रहेको थियो। आज साँझ ५ बजेसम्म यो आईपीओमा २० लाख ५ हजार ७४९ आवेदकबाट २ करोड ४५ लाख ६९ हजार ७७० कित्ता सेयर माग भएको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ। यो मागभन्दा १४.७७ गुणा बढी आवेदन हो। 

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ गत चैत १६ गतेबाट निष्कासन गरेको थियो। कम्पनीले जारी पुँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँको १० प्रतिशतले हुन आउने १८ करोड २७ लाख ९७ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। 

कम्पनीले १०० अंकित दरका कुल १८ लाख २७ हजार ९७० कित्ता आईपीओ जारी गरेको थियो। कुल कित्तामध्ये ४ प्रतिशतले हुन आउने ७३ हजार ११९ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने ९१ हजार ३९८ कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिसकिएको छ। बाँकी १६ लाख ६३ हजार ४५३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन व्यवस्था गरिएको थियो। 

मागभन्दा बढी आवेदन परेकोले यो आईपीओको बाँडफाँड पनि गोलाप्रथाबाट हुनेछ। जसअनुसार भाग्यमानी १ लाख ६६ हजार ३४५ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन् भने तिनैमध्ये थप ३ जनाले १–१ कित्ताका दरले सेयर पाउनेछन्।

यसअघि बलेफी हाइड्रोपावरले आयोजना प्रभावित सिन्धुपाल्चोक क्षेत्रका स्थानीयका लागि गत माघ २७ गतेदेखि फागुन २६ गतेसम्म आईपीओ निष्कासन गरिसकेको छ। कम्पनीले पुँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँको १० प्रतिशतले हुन आउने १८ करोड २७ लाख ९७ हजार रुपैयाँबराबरको आईपीओ आयोजना प्रभावितका लागि निष्कासन गरेको थियो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १८ लाख २७ हजार ९७० कित्ता आईपीओ निष्कासन गरेको थियो। 

यो आईपीओलाई धितोपत्र बोर्डले गत माघ ९ गते निष्कासन अनुमति दिएको थियो।