काठमाण्डौ । सिन्धुपाल्चोकका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्कासन गरेको बलेफी हाइड्रोपावर लिमिटेडको आईपीओमा अन्तिम दिन फागुन २६ गतेसम्म २८ करोड २५ लाख रुपैयाँ बढीको आवेदन परेको छ।

धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आज साँझ सवा ६ बजेसम्म यो आईपीओमा कुल ११ हजार ७१३ आवेदकबाट २८ लाख २५ हजार ८५१ कित्ता सेयर माग भएको छ। जसमा आयोजना प्रभावित क्षेत्रबाट ४ हजार ५६० आवेदकबाट १४ लाख ३५ हजार ३३० कित्ता र प्रसारण लाइनबाट प्रभावित क्षेत्रबाट ७ हजार १५३ आवेदकबाट १३ लाख ९० हजार २५१ कित्ता सेयर माग भएको छ। 

कम्पनीले गत माघ २७ गतेबाट जारी पुँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँको १० प्रतिशतले हुन आउने १८ करोड २७ लाख ९७ हजार रुपैयाँबराबरको आईपीओ आयोजना प्रभावितका लागि निष्कासन गरेको थियो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १८ लाख २७ हजार ९७० कित्ता आईपीओ निष्कासन गरेको थियो। 

कुल निष्कासित कित्तामध्ये वातावरण मूल्यांकन प्रतिवेदनबमोजिम सिन्धुपाल्चोको आयोजना प्रभावित क्षेत्रहरु क्रमशः जुगल गाउँपालिकाका वडा नं. २, ३ र ४ का लागि ६० प्रतिशत अर्थात १० लाख ९६ हजार ७८२ कित्ता र आयोजनाको १३२ केभी प्रसारण लाइनबाट प्रभावित क्षेत्रहरु क्रमशः जुगल गाउँपालिकाका वडा नं. ५ र ७, बलेफी गाउँपालिका १, ३, ६ र ७ तथा सुनकोशी गाउँपालिकाका वडा नं. ७ का बासिन्दाका लागि ४० प्रतिशत अर्थात ७ लाख ३१ हजार १८८ कित्ता छुट्याइएको थियो।

कम्पनीले आयोजना प्रभावितलाई आईपीओ बिक्री गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि जारी पुँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँको १० प्रतिशतले हुन आउने १८ करोड २७ लाख ९७ हजार रुपैयाँबराबरकै आईपीओ जारी गर्नेछ। 

नेपाल धितोपत्र बोर्डले गत माघ ९ गते यो कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको थियो।