काठमाण्डौ । लामो समयसम्म सेयर बजार घट्दा समेत चुइक्क नबोलेको आलोचना चौतर्फी हुन थालेपछि नेपाल उद्योग वाणिज्य महासंघले मुख खोलेको छ । 

महासंघको पूँजीबजार फोरमको संयोजकको रुपमा काम गरिरहेको सेयर बजारका अग्रज लगानीकर्ता अम्बिकाप्रसाद पौडेलको विषयमा पछिल्लो समय लगानीकर्ताहरुले चर्को आलोचना गरिरहेका थिए । बजार घटेर निकै तल आइसक्दा समेत पौडेलले महासंघको फोरमबाट केही पहल नगरेका र मुख समेत नखोलेका भन्दै कटु आलोचना भइरहेको बेला महासंघको विज्ञप्ति आएको हो । 

महासंघले पूँजीबजार घट्नु पछाडि ५ वटा कारण प्रस्तुत गर्दै बजारको विषयमा कुनै नीति बनाउँदा सम्बद्ध पक्षको समेत आवाज सुन्न आग्रह गरेको छ । 

उद्योग वाणिज्य महासंघले जारी गरेको विज्ञप्तिमा मूल्यजस्तो संवेदनशील विषयमा अन्य निकायको हस्तक्षेप हुनु, बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुको लगानीको सीमालाई संकुचन गरिनु, सेयर धितो कर्जामा लगाइएको एकल ग्राहक कर्जा सीमा तोक्नु, सूचिकृत कम्पनीले आफ्नो आवश्यकताअनुसार हकप्रद वा अन्य विधिबाट आफ्नो पूँजी संकलन गर्न रोक लगाउनु, विद्युत नियमन आयोगबाट संस्थागत लगानीकर्ताले खरीदबिक्री गर्दा १५ दिनअगाडि नै स्वघोषणा गर्नुपर्ने व्यवस्थाहरुजस्ता विभिन्न नीतिगत परिवर्तनका कारण सेयर बजारमा असर परेको दाबी गरेको छ । 

सेयर बजार परिसूचक घटबढ हुने क्रममा भदौ पहिलो सातायता समग्रमा पूँजीबजार ओरालो लागेको देखिन्छ । यसले आम लगानीकर्तालाई समेत सशंकित बनाएको देखिन्छ । महासंघको विज्ञप्तिमा भनिएको छः उक्त नीतिगत व्यवस्थाहरुको तत्काल संसोधन वा परिमार्जन गर्नुपर्ने सम्बन्धित व्यवसायीहरुको माग रहेको छ । 

महासंघले पूँजीबजार सम्बन्धी नीति वा नियम बनाउँदा सरोकारवालाहरुसँग पनि छलफल र विमर्श गर्न पनि आग्रह गरेको छ । 

साथै, पूँजीबजारमा जोखिम समेत रहने हुँदा लगानीकर्ताहरुलाई आफूले कारोबार गर्न खोजेको कम्पनी बारेको वित्तीय लगायतका आवश्यक जानकारी हासिल गरी विवेकपूर्ण लगानी गर्न पनि महासंघले आग्रह गरेको छ । महासंघले अहिलेको अवस्थामा संस्थागत लगानीकर्ताको विस्तारको आवश्यकतामाथि समेत जोड दिएको छ । 

बजार व्यवस्थित बनाउन आवश्यक अन्य नीतिगत व्यवस्था, पर्याप्त सूचना प्रवाह हुने संयन्त्रको निर्माण, प्रविधिको उच्चतम प्रयोग र नयाँ लगानीका साधन एवम् उपकरण बढाउन पनि महासंघले सम्बन्धित निकायसँग माग गरेको छ । 

महासंघले बजारको प्रविधिको प्रयोग र बैंक तथा वित्तीय संस्थामा अधिक तरलता रहँदा धेरै लगानीकर्ताले अवसर पाएका र हाल डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या नै करिब ४५ लाख नाघ्नुले यसतर्फको आकर्षण पुष्टि गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ । 

कोभिड १९ को महामारी  र त्यसलाई नियन्त्रण गर्न लगाइएको बन्दाबन्दीका कारण अर्थतन्त्रमा नकारात्मक असर परे पनि नेपालको पूँजीबजार भने यस अवधिमा गतिशील रही पूँजीबजारको इतिहासमा सर्वाधिक राजश्व समेत प्रदान गर्न सफल रहेको समेत महासंघले विज्ञप्तिमा उल्लेख छ । 

देशका लाखौं लगानीकर्ताको पूँजीबजारप्रति विश्वास बढिरहेको अवस्थामा यसको विकास प्रवद्र्धनमा नियामक निकाय एवम् अन्य सरोकारवालाहरुको सकारात्मक भूमिका चाहिने समेत महासंघको विज्ञप्तिमा उल्लेख छ ।