काठमाण्डौ । लामो समयपछि नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ।

विगत लामो समयदेखि पटक-पटक इण्डियन आयल कर्पोरेसनबाट घटेर मूल्यसूची आए पनि घाटा लाग्ने भन्दै निगमले आन्तरिक बजारको इन्धनको मूल्य समायोजन गरेको थिएन । यसको चौतर्फी आलोचना हुँदै आएको थियो ।

पछिल्लोपटक शुक्रबार आइओसीले मूल्य घटाएर नयाँ सूची पठाएपछि भने निगमले पनि मूल्य समायोजन गरेको हो । 

निगमले आजै मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु. ३ ले घटाएको छ । 

मूल्य समायोजन भएसँगै अब पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १७८ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७५ कायम भएको छ । 

एलपी ग्याँसको मूल्य र हवाई इन्धनको मूल्यमा भने कुनै परिवर्तन नगरिएको निगमले जारी गरेको सूचनामा उल्लेख छ। 

निगमले नेपाल सरकार र आइओसीलाई डिसेम्बर २०२२ मा तिर्नुपर्ने नियमित भुक्तानीसहित करिब १९ अर्ब तिर्न बाँकी रहेको समेत निगमको दाबी छ । 

तिर्न बाँकी रकम ठूलै हुँदा समेत उपभोक्ताको हितलाई ध्यानमा राखी मूल्य समायोजन गरिएको निगमको दाबी छ ।