काठमाण्डौ। बाँके जिल्लाका पहिलो कोरोनाभाइरस संक्रमितसँगै २१ जना निको भएर आज शुक्रबार अस्पतालबाट डिस्चार्ज हुँदैछन्।

बाँकेस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको आइसोलेसन वार्डमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका २१ जनाको पुनः परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज हुन लागेका हुन्। उनीहरुलाई बिहान ९ बजेतिर अस्पतालले बिदाइ गर्ने कार्यक्रम रहेको बताइएको छ। 

अस्पतालका अनुसार डिस्चार्ज भएर घर जान लागेकामध्ये नेपालगन्ज वडा नम्बर ७ निवासी एकजना र वडा नम्बर ८ का २० जना छन्।

भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रकाश थापाले नेपालगन्जका पहिलो संक्रमित व्यक्ति ६० वर्षीय पुरुषको बिहीबार परीक्षण गर्दा तेस्रो रिपोर्ट नेगेटिभ आएको जानकारी दिए। ‘अन्य २० जनाको दोस्रो रिपोर्ट नेगेटिभ आएको छ’, उनले भने, ‘२१ जनै निको भएकाले डिस्चार्ज गर्न लागिएको हो।’ 

बाँकेमा पहिलोपटक गत वैशाख १९ गते एउटा मस्जिदमा पढाउने ६० बर्षीय शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनको सम्पर्कमा आएका एकै टोलका अन्य मानिसमा समेत संक्रमण भेटिएको थियो।

बाँकेमा हालसम्म १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये नरैनापुरका २५ वर्षीय  एक पुरुषको क्वारेन्टाइनमै मृत्यु भएको थियो।

बाँकेमा हालसम्म नरैनापुरका ७४, नेपालगन्जका २५ र खजुराका २ जना संक्रमित फेला परेका छन्।