काठमाण्डौ । अर्थमन्त्री डा प्रकाशशरण महतले बाटोले विकासको धेरै ठूलो सम्भावना खुलाएको बताएका छन् । 

नुवाकोटको शिवपुरी गाउँपालिकास्थित श्री शेराबगर विकास समाजद्वारा आयोजित बृहत गोरु जुधाई तथा साँस्कृतिक कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै उनले सडकले नै नेपालमा विकासको सुरुवात गरेको बताए ।

उनले भने, ‘मध्यपहाडी लोकमार्ग पहिला यहाँबाट लैजाने योजना थिएन । पाँचखालबाट काठमाण्डौ हुँदै झोरबाट छहरे झार्ने योजना थियो । काठमाण्डौबाट पछाडि परेको शिवपुरीबाट बाटो जानुपर्छ भनेर मैले प्रस्ताव गरेको हो । अहिले लोकमार्ग बनेको छ । अब यो ठाउँको शुभदिन सुरु भएको छ । यसको भरपूर उपयोग गर्नुपर्छ ।’

उनले भने, ‘रासायनिक मल प्रयोग नगरी स्थानीय मलको प्रयोग गरेर उत्पादन सुरु भएको छ । सडक बनेको छ, काठमाण्डौ पुग्न सजिलो छ । ४५ मिनेटमा काठमाण्डौ पुगिन्छ ।’

उत्पादनको सम्भावनालाई प्रयोग गर्न अनुरोध गर्दै उनले सरकारले उत्पादनमा अनुदान दिने नीति बजेटमार्फत् ल्याएको भन्दै पहिलाजस्तो गैरकृषकले कागजमा देखाएर अनुदान लिने परम्परा अन्त्य भएको पनि बताए ।

साथै उनले ‘सडक निर्माणमा एकै पटक बजेट राख्न नसकिने उल्लेख गर्दै देशमा आवश्यकता धेरै भएको तर आम्दानी थोरै रहेकाले सबैलाई आउँदा दिनमा समेटिने बताए ।