काठमाण्डौ ।बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) ले चालू आर्थिक वर्ष(आव) २०८०/ ०८१ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण शुक्रबार प्रकाशित गरेका छन्।

प्रकाशित वित्तीय विवरण अनुसार ती दुबै कम्पनीको आम्दानी र खुद नाफा गत आवको सोही अवधिको तुलनामा घटेको छ।चालू आवको पहिलो त्रैमाससम्ममा बोटलर्स नेपालले ९ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

गत आवको उक्त अवधिसम्मको तुलनामा ७५.०१ प्रतिशतले कमी हो । गत आवको सोही अवधिसम्ममा कम्पनीले ३७ करोड २३ लाख रुपैयाँ आम्दानी गरेको थियो।

बिक्री आम्दानी घट्दा खुद नाफा पनि प्रभावित भएको कम्पनीले बताएको छ । पहिलो त्रैमाससम्ममा कम्पनीको बिक्री आम्दानी १८.७२ प्रतिशत घटेर ३ अर्ब २६ करोड ६२ लाख रुपैयाँमा सीमित छ। यस्तै कम्पनीको कुल नाफा २१.१९ प्रतिशतले घटेको छ । त्यसैगरी कम्पनीको अन्य सञ्चालन आम्दानी ४.४३ प्रतिशत र सञ्चालन मुनाफा ५०.९५ प्रतिशतले घटेको छ।

कम्पनीको प्रतिशेयर नेटवर्थ ३ हजार २२४ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १२ गुणा छ। कम्पनीको चुक्तापूँजी १९ करोड ४८ लाख रुपैयाँ  छ भने जगेडा कोषमा ५ अर्ब ७१ करोड ४५ लाख रुपैयाँ सञ्चित छ।

त्यसैगरी, बोटलर्स नेपाल (तराई) ले  भने चालू आवको पहिलो त्रैमासमा १३ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५८ प्रतिशतले कमी हो । गत आवको सोही अवधिसम्ममा कम्पनीले ३१ करोड ६७ लाख रुपैयाँ आम्दानी गरेको थियो। कम्पनीको बिक्री आम्दानी घट्दा नाफा प्रभावित बन्न पुगेको हो ।

उक्त अवधिसम्ममा कम्पनीको बिक्री आम्दानी १७.५१ प्रतिशतले घटेर २ अर्ब ४६ करोड ८५ लाख रुपैयाँमा सीमित भएको छ।

यसका साथै कम्पनीको कुल नाफा १९.११ प्रतिशतले घटेको छ भने अन्य सञ्चालन आम्दानी ५६.४१ प्रतिशत र सञ्चालन मुनाफा पनि ४४.२७ प्रतिशतले घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। कम्पनीको चुक्तापूँजी १२ करोड १० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब ७९ करोड २९ लाख रुपैयाँ सञ्चित छ।

त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ३ हजार २३५ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २९ गुणा छ।