काठमाण्डौ । साताको पहिलो दिन बजार परिसूचक दोहोरो अंकले वृद्धि भएको छ । धेरै समयपछि कारोबार रकम पनि डेढ अर्ब माथि पुगेको छ । 

आइतबार नेप्से परिसूचक १७.६१ अंकले वृद्धि भई १७४८.२३ अंकको उचाई चुमेको हो । 

यो दिन वाणिज्य बैंक र बिमा समूहमा लगानीकर्ता झुम्मिए । कमाउनेमा बिमा कम्पनी नै अगाडि रहे भने गुमाउनेमा विकास बैंक र फाइनान्स अगाडि देखिए । 

सबैभन्दा धेरै वाणिज्य बैंक र बित्त समूहको सूचकमा बढोत्तरी भयो । वाणिज्य बैंक समूह १.४६ प्रतिशत र बित्त समूह १.८८ प्रतिशतले वृद्धि भएको हो । यी दुई समूहमा अंकको हिसाबले क्रमशः २३.७८ र १५.३४ को बढोत्तरी भयो । 

बिमा समूहको परिसूचक ५७.२६ अंकले वृद्धि भयो । यसैगरी, विकास बैंक समूह १०.६८, उत्पादनमूलक ८.०५ र अन्य समूह २.०३ अंकले उक्लिए । दुई समूहमा चाहि  रातो पोतियो । होटल समूह २०.९३ र जलविद्युत समूह १२.१७ अंकले तल झरे । 

'क' वर्गका कम्पनीको कारोबारमा सुधार हुँदा सेन्सेटिभ इण्डेक्स ३.८७ अंकले बढ्यो । फ्लोट इण्डेक्स १.४६ अंकले उक्लियो । 

पूँजीबजारमा धेरै दिनपछि कारोबार रकम अर्ब माथि पुग्यो । कुल १ सय ४१ कम्पनीका १३ लाख १५ हजार ६ सय ४७ कित्ता सेयर १ अर्ब ३५ करोड ९१ लाख रुपैयाँमा किनबेच भयो । 

धेरै कारोबार  गर्ने कम्पनी
आइतबार सबैभन्दा धेरै लुम्बिनी जनरल इन्स्योरेन्सको १४ करोड रुपैयाँको सेयर  कारोबार भयो । एनआइसी एशिया बैंकको ११ करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १० करोड ५४ लाख, नेपाल बंगलादेश बैंकको ८ करोड ३१ लाखको सेयर कारोबार भयो । यसैगरी, प्रभू इन्स्योरेन्सले ६ करोड ६८ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले ५ करोड १० लाख, एभरेष्ट बैंकले ४ करोड ६७ लाख, यूनाइटेड इन्स्योरेन्सले ३ करोड ६९ लाख,  प्रूडेन्सियल इन्स्योरेन्सले ३ करोड ५८ लाख र एनएमबी बैंकले ३ करोड ४२ लाखको कारोबार गरे । 

धेरै कमाउने र गुमाउनेहरु
आइतबार तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । यूनाइटेड इन्स्योरेन्सको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भयो । हिमालयन जनरल इन्स्योरेन्सको सेयर ९.९६ तथा साइन रेसुंगा डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.५९ प्रतिशतले वृद्धि भयो । यसैगरी, नेपाल इन्स्योरेन्स कम्पनी, एनआइसी एशिया बैंक र सूई लाइफ इन्स्योरेन्सका लगानीकर्ताले पनि कुस्त कमाए । यी तीन कम्पनीको सेयर मूल्यमा क्रमशः ८.९९, ८.५४ र ७.२७ को बढोत्तरी भयो । 

आइतबार सबैभन्दा बढी युनियन फाइनान्सका लगानीकर्ताले गुमाए । यो कम्पनीको सेयर मूल्यमा ७ प्रतिशतले गिरावट आयो । यसैगरी, देव विकास बैंक, कसमस डेभलपमेन्ट बैंक, एक्सल डेभलपमेन्ट बैंक, सगरमाथा फाइनान्स लिमीटेड, नेको इन्स्योरेन्सका लगानीकर्ता पनि गुमाउनेको सूचिमा परे । यी कम्पनीको सेयर मूल्य ३ देखि ४ प्रतिशतको हाराहारीमा गिरावट आयो ।