काठमाण्डौ । साताको दोश्रो कारोबार दिन सोमबार बित्तीय संस्था र बिमा कम्पनीका लगानीकर्ताले कुस्त कमाएका छन् । 

केहीले झै अन्य बिमा कम्पनीले पनि हकप्रद वा बोनस सेयर ल्याउने आशाका कारण यो समूहमा लगानीकर्ता झुम्मिएका छन् । आर्थिक वर्ष २०७२ ७३ को नाफाबाट लाभांश वितरणको तयारीमा रहेका कारण वाणिज्य बैंक, विकास बैंक र बित्त कम्पनीहरुमा समेत लगानीकर्ताको आकर्षण उस्तै देखिएको छ । 

बिमा र बित्तीय संस्थाकै कारण सोमबार बजार १८.३१ अंकले वृद्धि भई १७६६.५४ अंकको उचाईमा पुगेको छ । धेरै दिनपछि पहिलोपटक डेढ अर्ब बढीको सेयर किनबेच भयो । 

यो साताको सुरुवातदेखि नै नेप्से परिसूचकसँगै समानान्तर ढंगले कारोबार पनि बढिरहेको छ । विश्लेषकहरुका अनुसार सूचकसँगै कारोबार समेत समानान्तर ढंगले माथि उक्लिनु पूँजीबजारका लागि सकारात्मक संकेत हो ।

होटल र जलविद्युत समूहबाहेक सबै समूह हराभरा भएका छन् । 

सुधारिएको बजारमा वाणिज्य बैंक समूह २३.६२ अंकले उक्लियो भने बिमा समूहको सूचक पनि ५५.८९ अंकले वृद्धि भयो । उत्पादनमूलक ३६.१४ अंकले बढ्दा विकास बैंक र बित्त समूह क्रमशः १७.३९ र ७.०५ अंकले उकालो लागे । अन्य समूहमा चाहि १.४४ अंकको झिनो बढोत्तरी देखियो । 

सबैभन्दा बढी होटल समूहमा १७.४६ अंकको गिरावट देखियो । जलविद्युत समूह पनि ४.६५ अंकले तल झर्यो । 

'क' वर्गका कम्पनीको सेयर खरीदमा लगानीकर्ताको विश्वास बढेका कारण सेन्सेटिभ इण्डेक्स ४.०९ अंकले बढ्यो भने फ्लोट इण्डेक्समा १.५९ अंकको बढोत्तरी देखियो । 

धेरै दिनपछि पहिलोपटक डेढ अर्बको बढीको कारोबार भयो । आइतबार भन्दा करिब १५ करोडले कारोबार बढी सोमबार १ सय ४० कम्पनीको २९ लाख ५७ हजार ६ सय ८ कित्ता सेयर १ अर्ब ५० करोड ८६ लाखमा किनबेच भएको हो । यो साताको सुरुवातदेखि नै नेप्से परिसूचकसँगै समानान्तर ढंगले कारोबार पनि बढिरहेको छ । विश्लेषकहरुका अनुसार सूचकसँगै कारोबार समेत समानान्तर ढंगले माथि उक्लिनु पूँजीबजारका लागि सकारात्मक संकेत हो । 

धेरै कारोबार गर्नेहरु
हकप्रदको घोषणाले केही दिनदेखि धेरै कारोबार गर्ने कम्पनीको सूचिमा नेतृत्व गरिरहेको हिमालयन जनरल इन्स्योरेन्स नै सोमबार पनि शीर्ष स्थानमा रह्यो । यो कम्पनीको मात्रै १८ करोड ८६ लाखको सेयर किनबेच भयो । 

विगत लामो समयदेखि लगानीकर्ताको विश्वास जित्दै आएको नेपाल बंगलादेश बैंकले ११ करोड ५३ लाख बराबरको कारोबार गर्यो भने लुम्बिनी जनरल इन्स्योरेन्सको समेत ९ करोड २९ लाख रुपैयाँको कारोबार भयो । सिद्धार्थ बैंकले ८ करोड ७७ लाख, एनएमबी बैंकले ८ करोड, यूनाइटेड इन्स्योरेन्सले ५ करोड ४७ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले ४ करोड ६० लाख, एनआइसी एशिया बैंकले ४ करोड ४७ लाखको कारोबार गरे । 

सोमबार मात्र नगद लाभांश घोषणा गरेका कारण सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीमको सेयरमा समेत लगानीकर्ताको आकर्षक देखियो । यो कम्पनीको ३ करोड ४१ लाखको सेयर किनबेच भयो । नेपाल बैंक लिमीटेडले धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा आफूलाई सामेल गराउँदै ३ करोड ४१ लाखकै कारोबार गर्न सफल भयो । 

धेरै कमाउने र गुमाउनेहरु
कारोबारको हिसाबले वाणिज्य बैंक र बिमा कम्पनी अगाडि भए पनि कमाउनेको सूचिमा चाहि उत्पादनमूलक, विकास बैंक र माइक्रोफाइनान्स अगाडि देखिए । सोमबार बोटलर्स नेपाल(तराई) लिमीटेडको सेयर मूल्यमा १० प्रतिशतको बढोत्तरी भयो भने सिन्धु विकास बैंक र साइन रेसुंगा डेभलपमेन्ट बैंकले समेत सोही हाराहारीमा कमाए । राष्ट्रिय बिमा कम्पनी लिमीटेड, एनएमबी बैंकका लगानीकर्ताले पनि ८ प्रतिशतको हाराहारीमा सम्पत्ति बढाए । 

बिमातर्फ लगानीकर्ता आकर्षित भए पनि सोमबार सबैभन्दा धेरै गुमाउने कम्पनीको अग्रस्थानमा सिद्धार्थ इन्स्योरेन्स दर्ज भयो । यो कम्पनीको सेयर मूल्य ४ प्रतिशतको हाराहारीमा घट्यो । राष्टिय बिमा कम्पनी लिमीटेडका प्रोमोटर सेयरधनीले समेत आफ्नो सम्पत्तिमा ४ प्रतिशतकै क्षति व्यहोर्नुपर्यो । कन्काई विकास बैंकको सेयर मूल्य पनि ४ प्रतिशतकै हाराहारीमा घट्यो । नेपाल ग्रामीण विकास बैंक लिमीटेड र वरुण हाइड्र«ोपावरका लगानीकर्ताको सम्पत्तिमा ३ प्रतिशतको हाराहारीमा गिरावट आयो ।