काठमाण्डौ । देशकै कान्छो जीवन बिमा कम्पनी, महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले कारोवार सञ्चालनलगत्तै बिमा जागरण, तालिम र अन्तरक्रिया कार्यक्रमलाई तीव्र बनाएको छ । यो अभियान चैत मसान्तसम्म संचालन गरी त्यसपछि भने व्यवसाय बिस्तारमा आक्रामक बन्ने कम्पनीको योजना छ ।

कम्पनीले एक महिनाभित्र देशका ३५ जिल्लामा बीमा जागरण, अन्तरक्रिया तथा तालिम कार्यक्रम आयोजना गरेको छ । 

माघ २७ गतेबाट कारोवार सञ्चालन गरेको नेपालको १९ औं जीवन बीमा कम्पनीले सातै प्रदेशका ३५ जिल्लामा ७५ वटा कार्यक्रम सञ्चालन गरिएको जनाएको छ । 

प्रदेश १ को ४ वटा जिल्ला, प्रदेश २ को ७ वटा जिल्ला, प्रदेश ३ को १० वटा जिल्ला, प्रदेश ४ को ५ वटा जिल्ला, प्रदेश ५ को ५ वटा जिल्ला, प्रदेश ६ को २ वटा जिल्ला र प्रदेश ७ को २ वटा जिल्लामा अभिकर्ता तालिम तथा बीमा जागरण कार्यक्रम सञ्चालनभएको बताइएको छ । 

जीवन बीमा व्यवसायका लागि अभिकर्ता नियुक्ति अनिवार्य भएको तथा कम्पनीको बीमा योजना सम्बन्धी जानकारी, कम्पनीको रणनीति र कार्यक्रम आम जनता समक्ष पुर्याउन आवश्यक भएकोले पनि तालिम र जनजागरण अभियान सञ्चालन गरिएको कम्पनीको प्रष्टोक्ति छ । 

एक महिनाको यो कार्यक्रममा हालसम्म ६,३०० भन्दा बढी व्यक्तिले सहभागिता जनाएका छन् । 

कम्पनीले २०७५ चैत्र मसान्तसम्म अधिराज्यभरी अभिकर्ता तालिम र बीमा जागरण अभियानलाई निरन्तरता दिने र त्यसपछि बीमा व्यवसाय प्रभावकारी रुपमा सञ्चालन गर्ने कार्यक्रम बनाएको छ । 

कम्पनीले बीमा समितिबाट स्वीकृति लिएको सातै प्रदेशको १३ वटा शाखा तथा उपशाखा तथा उपत्यकाभित्रको १० वटा शाखा आउँदो चैत्र मसान्तभित्र सञ्चालन गरिसक्ने तयारी गरिरेहको समेत प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले बताएका छन् ।