काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले स्थगित गरेको लिलामीमा राखेको संस्थापक सेयर खरिदका लागि बोलपत्र पेस गर्ने कार्य पुनः आज (भदौ ३० गते) बाट सुरु गरेको छ।

विश्व महामारी कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले काठमाण्डौ उपत्यकामा भदौ ३ गतेदेखि निषेधाज्ञा जारी गरेपछि लिलामीमा राखिएको सेयर खरिदका लागि बोलपत्र पेस गर्ने कार्य बैंकले स्थगि गरेको थियो। 

बैंकले गत भदौ १ गतेदेखि संस्थापक समूहको ३ लाख १६ हजार १५६ कित्ता सेयर लिलामीमा राखेको थियो। सुरुमा लिलामीमा राखिएको सेयरमा भदौ ८ गतेसम्म बोलपत्र पेस गर्न सकिने भनिएकोमा स्थानीय प्रशासनले भदौ ३ गते राति १२ बजेदेखि भदौ १० गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेपछि बैंकले अर्को सूचना जारी गरी बोलपत्र पेस गर्न सकिने अवधि भदौ १५ गते दिउँसो २ बजेसम्म बढाएको थियो। 

यसबीच स्थानीय प्रशासनले पुनः निषेधाज्ञाको अवधि भदौ १७ गते राति १२ बजेसम्म बढाएसँगै बैंकले बोलपत्र पेस गर्ने कार्य स्थगित गरेको गरेको थियो। अब स्थिति सामान्य भएपछि मात्र सार्वजनिक सूचना प्रकाशित गरी बोलपत्र दाखिला पुनः सुचारु गरिने बैंकले जनाएको थियो। 

बैंकले लिलामीमा राखिएको सेयर प्रतिकित्ता १४० रुपैयाँ तोकेको छ। यसको मतलब लगानीकर्ताले सोही मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्न सकिने भनिएको छ। लिलामीमा विद्यमान संस्थापक तथा सर्वसाधारणले बोलपत्र पेस गर्न सक्ने जनाइएको छ। 

धितोपत्र बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ। अब लगानीकर्ताले असोज ४ गतेसम्म बोलपत्र पेस गर्न सक्नेछन्।