काठमाण्डौ । बुटवल पावर कम्पनीको दोश्रो बजारको सेयर मूल्य एफपीओको भन्दा तल झरेको छ । घट्दो बजारम मूल्य लगातार तल झरेपछि प्रतिकित्ता ५०१ रुपैयाँको दरले एफपीओ खरीदका लागि आवेदन दिएकाहरु बढी तनावमा परेका छन् । 

यो कम्पनीको मूल्य एफपीओ निश्कासनको घोषणा गरेदेखि नै लगातार घटिरहेको छ । बुटवल पावर कम्पनीलाई ५०१ रुपैयाँ प्रतिकित्ताको दरले एफपीओ निश्कासन गर्न दिंदा करोडौंको चलखेल भएको आरोप समेत धितोपत्र बोर्डका अधिकारीहरुमाथि लागेको थियो, भलै उनीहरुले सो आरोपको खण्डन गरिसकेका छन् । 

आइतबारदेखि पहिरोको सामना गरिरहेको दोश्रो बजारमा सोमबार यो कम्पनीको मूल्य १० रुपैयाँले घटेर ४ सय ९७ रुपैयाँमा सीमित बन्न पुुगेको हो । 

कम्पनीले यही माघ १५ गतेदेखि सर्वसाधारणका लागि भन्दै ४० लाख ८१ हजार कित्ता एफपिओ बिक्री खुल्ला गरेको थियो । प्रति कित्ता एक सय रुपैयाँमा ४०१ रुपैयाँ प्रिमियम थप गरी ५०१ रुपैयाँका दरले निश्कासित एफपीओ सबै बिक्री नभएपछि करिब ५८ करोड मूल्यको सेयर अण्डरराइट गर्ने कम्पनीले सकार्नुपर्ने अवस्था सिर्जना भएको छ । यो कम्पनीको दोश्रो बजारको मूल्य अझै घटे ५०१ का दरले सेयर अण्डरराइट गर्ने बाध्यतामा परेका कम्पनीहरुले समेत लाखौं घाटा व्यहोर्नेछन् । सोमबारकै घटेको मूल्यका आधारमा हिसाब गर्दा समेत अण्डरराइट गर्ने कम्पनीले ४६ लाख ३० हजार घाटा व्यहोर्नुपर्ने देखिएको छ । तर, भविष्यमा कम्पनीको मूल्य बढेको खण्डमा भने यो घाटा नहुन पनि सक्छ ।  

कुरै नबुुझी बीपीसीको एफपीओमा पैसा लगाएकाहरुले समेत राम्रै रकम गुमाउनुपर्ने अवस्था आउनसक्ने समेत यो घटनाले देखाएको छ ।