काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सले आईपीओ निष्कासनको अनुमति पाएको छ । कम्पनीले बुक विल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट पुस १९ गते अनुमति पाएको हो ।

कम्पनीले प्रथम चरणमा योग्य संस्थागत लगानीकका लागि आईपीओ जारी गर्ने अनुमति पाएको हो ।  यससँगै अब कम्पनीले सर्वासाधारणलाई निष्कासन गरिने कुल निष्कासनको ४० प्रतिशत सेयर योग्य संस्थागत लगानीकर्तालाई जारी गर्नेछ ।  कम्पनीले धितोपत्र बोर्डबाट ७ लाख ७० हजार ६४० कित्ता आईपीओ निष्काशनको अनुमति पाएको हो ।  

कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६०८ रुपैयाँ देखि ९१२ रुपैयाँसम्म निर्धारण गरिएको छ । कम्पनीका संस्थागत लगानीकर्ताले प्रतिकित्ता ६०८ देखि ९१२ को मूल्य रेन्जमा रहि आईपीओका लागि आवेदन दिनुपर्नेछ । संस्थागत लगानीकर्तालाई सेयर बाँडफाँड गरिएपछि सर्वसाधारणका लागि आईपीओ जारी गरिनेछ । स्थागत लगानीकर्ताले आवेदन दिएको मूल्यबाट कट अफ मूल्य निर्धारण गरिनेछ ।  आम सर्वसाधारणलाई  यहि कट अफ मूल्यमा १० प्रतिशत छुट दिई सार्वजनिक  निष्कासन गरिनेछ । 

धितोपत्र बोर्डमा बुक बिल्डिङ प्रक्रियाकै लागि भनेर दर्ता भएका योग्य संस्थागत लगानीकर्ताहरूसँग सेयर जारी गर्ने कम्पनीले उनीहरूले चाहेको न्यूनतम संख्या, आशय मूल्य र मूल्यांकन विधि माग गर्छ। 

 कम्पनीको संस्थतागत आईपीओ  निष्कासनको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । 

०५१ सालमा कम्पनी रजिस्ट्रारको कार्यालयमा विधिवत रूपमा दर्ता भई सञ्चालनमा आएको रिलायन्स स्पिनिङ नेपालको सबैभन्दा ठूलो स्पिनिङ मिल्स हो ।  

करिब ४५ सयलाई रोजगारी प्रदान गरिरहेको यस कम्पनीको औद्योगिक कारखाना सुनसरी जिल्लाको दुहबी र खनारमा रहेको छ । उच्च प्रविधियुक्त स्पिनिङ प्लान्ट र मेसिनरी जडान गरी कम्पनीले अन्तर्राष्ट्रिय गुणस्तरको पोलिस्टर, भिसकोस, एक्रिलेक र्यान लगायत सिउने धागोहरू विभिन्न ब्लेन्डमा उत्पादन गर्दै आएको छ ।