काठमाण्डौ । बुटवल पावर कम्पनी bpcl नेपालको जलविद्युत् क्षेत्रमा ५० वर्षमाथिको इतिहास बोकेको एकमात्र अग्रणी कम्पनी हो।

यो सन् १९६५ मा प्राइभेट कम्पनीको रूपमा स्थापना भएको थियो । सन् १९९३ मा पब्लिकमा रूपान्तरण भएको यस कम्पनीलाई सरकारीबाट सन् २००३ मा निजीकरण गरिएको थियो ।

कम्पनीसँग हाल ९ दशमलव ४ मेगावाटको आँधीखोला र १२ मेगावाटको झिमरुक आयोजनाको सम्पूर्ण स्वामित्व रहेको छ । त्यस्तै, ४ मेगावाटको खुदी हाइड्रोपावर आयोजनाको अधिकांश स्वामित्व तथा ६० मेगावाटको खिम्ती हाइड्रोपावर आयोजनाको स्वामित्व रहेको हिमाल पावर लिमिटेडको १८ दशमलव ६६ प्रतिशत स्वामित्व छ ।

कम्पनीले आफ्नो भगिनी कम्पनीहरू काबेली इनर्जी र न्यादी हाइड्रोपावरबाट ३७.६ मेगावाटको काबेली–ए हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट तथा ३० मेगावाटको न्यादी हाइड्रोपावर प्रोजेक्ट सन् २०१७ बाट शुरुआत गरिसकेको छ ।

कम्पनीअन्तर्गतका सहायक कम्पनीका रूपमा बीपीसी सर्भिसेज लिमिटेड, हाइड्रो कन्सल्ट इञ्जिनीयरिङ लिमिटेड, काबेली इनर्जी लिमिटेड, नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेड, खुदी हाइड्रोपावर लिमिटेडलगायत छन् ।

कम्पनीले आफ्नै वितरण प्रणालीमार्फत स्याङ्जा, पाल्पा, प्यूठान र अर्घाखाँची जिल्लाका ग्रामीण भेगका ५० हजारभन्दा बढी घरधुरीलाई विद्युत् सेवा दिंदै आएको छ।

नेपालका विभिन्न क्षेत्रसँग सम्वन्धित् व्यवसायिक घरानाहरुले सांग्रिला इनर्जीमार्फत बुटवल बीपीसीमा लगानी गरेका छन् । जसमा पञ्चकन्या ग्रूप, ज्योति ग्रूपसहित बीमा, बैंक तथा निर्माण कम्पनीका व्यक्तिहरु छन् ।  कम्पनीको सञ्चालक समितिको अध्यक्षमा पद्म ज्योति छन् । 

हुन त जलविद्युत विकासमा बीपीसी नयाँ होइन । पाँच दशकभन्दा लामो समयदेखि जलविद्युत उत्पादन तथा वितरण गर्दै आएको कम्पनीले यो क्षेत्रमा सफल नमूना प्रस्तुत गरिसकेको छ । सरकारी स्वामित्वसमेत जोडिएको बीपीसीले विद्युत् उत्पादन तथा वितरणमात्र होइन परामर्श सेवाको जिम्मेवारी पनि पूरा गर्दै आएको छ ।

कम्पनीले सञ्चालन गर्दै आएको ९.४ मेगावाट(मेवा) को आँधिखोला र १२ मेगावाटको झिमरुक जलविद्युत केन्द्रहरु नियमित रुपमा सञ्चालन भैरहेका छन् । साथै सहायक तथा सम्वद्ध कम्पनीमार्फत सञ्चालित ४ मेगावाटको खुदी जलविद्युत केन्द्र र ६० मेवाको खिम्ती प्रथम जलविद्युत केन्द्रको सञ्चालन सुचारु रुपमा हुँदै आएको छ ।

खिम्ती प्रथम जलविद्युत केन्द्रको स्वामित्वको आधा हिस्सा सन् २०२० जुलाईदेखि नेपाल विद्युत प्राधिकरणले लिइसकेको छ । लमजुङ जिल्लास्थित ३० मेवाको न्यादी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भई २०७९ बैशाख २७ देखि सञ्चालनमा छ । 

नेपाल स्टक एक्स्चेञ्च(नेप्से) मा सूचीकृत भएका जलविद्युत् कम्पनीहरुमध्ये अब्बल कम्पनीको रुपमा बीपीसी रहेको छ । नेप्सेमा सूचीकृत भएका ती कम्पनीहरुमध्ये यस कम्पनीले आफ्ना शेयरधनीहरुलाई प्रत्येक वर्ष आकर्षक लाभांश प्रदान गर्दै आएको छ ।

कम्पनीको नेप्सेमा ३ करोड ४० लाख ९० हजार ६४६कित्ता सेयर सूचीकृत छ ।जसमा संस्थापकतर्फ ९०.२१ प्रतिशत र सर्वसाधारणतर्फ ९.७९ प्रतिशत सेयर स्वामित्व रहेको छ । हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब ४० करोड ९० लाख ६४ हजार ६०० रुपैयाँ छ ।

गत साताको अन्तिम कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३०० रुपैयाँ रहेको छ ।कम्पनीको बजार पूँजीकरण १० अर्ब २५ करोड १० लाख ५७ हजार २५२ रुपैयाँ रहेको छ ।