काठमाण्डौ । बुटवल पावर कम्पनी लिमीटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशतको दरले नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

कम्पनीको चैत २५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट लगानीकर्तालाई २० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

यो प्रस्तावलाई पारित गर्न कम्पनीले आगामी जेठ ८ गते २५ औं वार्षिक साधारणसभा समेत आह्वान गरेको छ । 

साधारणसभा प्रयोजनका लागि कम्पनीले बैशाख २७ गतेदेखि बुक क्लोज हुने नेप्सेमा सूचना जारी गरी जनाएको छ । यसको अर्थ बैशाख २६ गतेसम्म यो कम्पनीको सेयरधनी कायम हुनेहरुले घोषित नगद लाभांश पाउन, साधारणसभामा सहभागिता जनाउन पाउनेछन् । 

बुटवल पावर कम्पनीले हालै एफपीओ बिक्री गरेको थियो । प्रतिकित्ता ५०१ रुपैयाँको दरले एफपीओ खरीद गरेका लगानीकर्ताहरु दोश्रो बजारमा कम्पनीको सेयर मूल्य घटेर पछुताइरहेका छन्, कारण कम्पनीको सेयर मूल्य ५०१ भन्दा तल झरेको छ । सोमबारसम्म यो कम्पनीको दोश्रो बजारमा प्रतिकित्ता मूल्य ४७० रुपैयाँ रहेको छ। यो अवस्थामा कम्पनीको एफपीओ खरीद गरेका लगानीकर्ताहरुले समेत २० प्रतिशत नगद लाभांश पाउने यसअघि नै घोषणा गरिसकेको छ । 

दोश्रो बजार यसैगरी बढ्दै जाने हो भने कम्पनीको मूल्य फेरि माथि जाने निश्चित छ । यस्तो अवस्थामा एफपीओ खरीद गरेकाहरुले समेत २० प्रतिशत नगद लाभांश पाउँदा उनीहरु नाफैमा हुनेछन् ।