काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को नगद लाभांश सेयरधनीहरुको बैंक खातामा पठाएको छ। 

गत पुस २६ गते सम्पन्न २९ औँ वार्षिक साधारणसभाबाट पारित १० प्रतिशत नगद लाभांश कम्पनीले सेयरधनीहरुको डिम्याट खातामा उल्लेखित बैंक खातामा माघ २७ गतेदेखि जम्मा गरिदिएको हो। 

हालसम्म पनि आफ्नो डिम्याट खातामा बैंक खाता अद्यावधिक नगरेका सेयरधनीहरुलाई बैंक खाता अपडेट गर्न कम्पनीले आग्रह गरेको छ। आफ्नो सेयरको प्रमाणपत्रहरु अभौतिक गरेका सेयधनीहरुको हकमा बैंक खाता अपडेट र आफूसँग भएको सेयर प्रमाणपत्रहरु अभौतिक गराएपश्चात मात्रै सम्बन्धित सेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा हुने कम्पनीले जनाएको छ।

हालसम्म पनि डिम्याट खाता खोल्न बाँकी रहेका सेयरधनीहरुले कम्पनीको सेयर रजिस्ट्रार नबिल इन्भेस्टमेन्ट बैंकिङको काठमाण्डौको नक्सालस्थित नारायणचौरमा रहेको कार्यालयमा सम्पर्क गरी डिम्याट खाता खोल्न पनि कम्पनीले जनाएको छ। 

यसका साथै बुक क्लोजभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीहरुले आफ्नो सेयर प्रमाणपत्रहरु धितोमा राखी कर्जा सुविधा प्रयोग गर्दै आएको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र प्राप्त भएपश्चात् मात्र बैंक खातामा नगद लाभांश जम्मा गरिने कम्पनीले जनाएको छ।