काठमाण्डौ । बुटवल पावर कम्पनी लिमीटेडले आज(सोमबार)देखि ४० लाख ८१ हजार कित्ता साधारण सेयरको अतिरिक्त निश्कासन(एफपीओ) गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरको सेयरमा ४०१ रुपैयाँ प्रिमियम थपी प्रतिकित्ता ५ सय १ रुपैयाँको दरले एफपीओ बिक्री खुलाएको हो ।
एफपीओका लागि इच्छुकले आस्वा सदस्य बैंक तथा बित्तीय संस्था र तिनका शाखामा गएर आवेदन दिन सक्नेछन् । आस्वा सदस्य बैंकको शाखा प्राय सबै जिल्लामा रहेका कारण देशभरका लगानीकर्ताले बुटवल पावर कम्पनीको एफपीओमा आवेदन दिन सक्नेछन् ।
बुटवल पावर कम्पनी लिमीटेडको एफपीओ आएसँगै धेरै लगानीकर्तामा यसमा लगानी गर्ने कि नगर्ने भन्ने द्विविधा समेत देखिएको छ । कतिपय नयाँ लगानीकर्ता समेत यो कम्पनीको एफपीओमा लगानी गर्न इच्छुक देखिएका छन्, तर सूचनाको अभावमा उनीहरु बिलखबन्दमा छन् । उसो भए बुटवल पावर कम्पनीको एफपीओमा लगानी गर्नु कत्तिको सही होला ? यसमा गरेको लगानी सुरक्षित हुन्छ कि हुँदैन ?
देशको पहिलो क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले यो कम्पनीको सबै बित्तीय सूचकहरुको अध्ययनपछि एफपीओलाई ‘आइपीओ ग्रेड ३’ को रेटिङ प्रदान गरेको छ । जलविद्युत कम्पनीलाई ग्रेड ३ को रेटिङ दिइनु नै यो कम्पनीका आधारभूत पक्षहरु औसत र सन्तोषजनक नै छन् भन्ने हो ।
इक्रा नेपालले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ प्रदान गर्दछ, जसमा ग्रेड १ ले कम्पनीको आधारभूत अवस्था बलियो भएको जनाउँछ भने ग्रेड ५ ले कमजोर आधारहरु जनाउँछ । ग्रेड २, ३ र ४ मा प्रयोग हुने प्लस चिन्हले चाहि त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँछ । इक्रा रेटिङको दाबीलाई आधार मान्ने हो भने बुटवल पावर कम्पनीको एफपीओमा लगानी गर्दा जोखिम व्यहोर्नुपर्ने समस्या केही कम छ ।
बुटवल पावरले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७ करोड २२ लाख खूद नाफा आर्जन गरेको थियो । यो कम्पनीको दोश्रो बजारमा अन्तिम बिक्री मूल्य प्रतिकित्ता ६२८ रुपैयाँ रहेको छ । घट्दो क्रममा रहेको कम्पनीको मूल्य एकाएक बढेर चमात्कार हुने अवस्था देखिदैन । यसरी यो कोणबाट हेर्दा घटेर ६२८ रुपैयाँमा झरिसकेको र घट्दो क्रम जारी रहेकोले केही सजगतापूर्वक लगानीको निर्णय लिनु बुद्धिमता हुने देखिन्छ । एफपीओ पारेर केही समयपछि बेचिहाल्ने भन्दा पनि लामो समयसम्म राख्ने योजनाका साथ आवेदन दिनु उचित हुने देखिन्छ ।
बुटवल पावर कम्पनी लिमीटेडले एफपीओबाट संकलित रकम ३७.६ मेगावाटको काबेली ए हाइड्रोपावर प्रोजेक्ट तथा ३० मेगावाटका ङादी हाइड्रोपावर प्रोजेक्ट निर्माणमा खर्च गर्ने योजना बनाएको छ । बुटवल पावर कम्पनीको काबेलीमा ५४ प्रतिशत र ङादीमा ९७ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
लामो अनुभव
यो कम्पनी नेपालको जलविद्युत क्षेत्रको बलियो र ५१ वर्षे पुरानो कम्पनी हो । यसले कैयन जलविद्युत आयोजना समेत निर्माण सम्पन्न गरी संचालन गरिसकेको छ । जलविद्युतको विकास, निर्माण र संचालनमा लामो अनुभव भएको यो कम्पनीले ४ मेगावाटको खुदी, १०० मेगावाटको तल्लो मनाङ मस्र्याङ्दी, ९.४ मेगावाटको आँधीखोला लगायतका जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
यो अवधिमा कम्पनीले सानाठूला गरी एकदर्जनको हाराहारीमा जलविद्युत आयोजनाको निर्माण तथा संचालनको अनुभव हासिल गरिसकेको छ । लामो अनुभवका आधारमा यो कम्पनीले लगानीकर्ताको लगानीलाई राम्रो प्रतिफल आउने गरी खर्र्च गर्छ भन्ने विश्वास समेत गर्न सकिन्छ । तर, लगानीका लागि यो मात्रै बलियो आधार चाहि होइन । संस्थागत सुशासन, बित्तीय स्वस्थता, विगतमा लगानीकर्तालाई दिएको रिटर्न लगायतको बिषयले समेत लगानीको सुरक्षा हुन्छ या हुँदैन भन्ने कुरा निर्धारित हुन्छ ।
पछिल्लो समय यो कम्पनीले चीनका ३ कम्पनीहरुसँग सहकार्यको सम्झौता गरेको छ । पछिल्लो सम्झौता अनुसार बुटवल पावर कम्पनीको २० प्रतिशत सेयर स्वामित्व हुँदा सिचुवान इन्भेष्टमेन्ट ग्रुप कम्पनी लिमीटेडको ५१ प्रतिशत, छेंग्दु छिङचेङ इन्भेष्टमेन्ट ग्रुपको १७ प्रतिशत र क्वीङवान इञ्जिनियरिङ कन्सल्ट्यान्ट कम्पनी लिमीटेडको स्वामित्व रहने छ । तीनवटा चाइनिज कम्पनी र बुटवल पावरको सहभागितामा इन्टरनेशनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनी प्रालि नामको संस्था दर्ता गरिएको छ । यो कम्पनीमार्फत १ हजार मेगावाट विद्युत उत्पादन गर्ने गरी विभिन्न जलविद्युत योजनामा १ अर्ब ९० करोड रुपैयाँ लगानी गर्ने लक्ष्य राखिएको छ ।
यसरी तीनवटा चाइनिज कम्पनीसँग सम्झौता गरी विदेशी लगानी भित्र्याई त्यसलाई बिजुली उत्पादनमा लगाउने बुटवल पावर कम्पनीप्रति पछिल्लो दिनमा लगानीकर्ताको विश्वास केही बढेको देखिन्छ । चाइनिज कम्पनीसँग लगानीको सम्झौतासँगै यो कम्पनीको सेयरमूल्यमा केही दिनसम्म देखिएको वृद्धिले समेत यही कुरा पुष्टि गर्छ । विदेशी लगानीकर्तासँगको सहकार्यमा राम्रो काम गर्न सके बुटवल पावर कम्पनीको मूल्य आगामी दिनमा समेत अझ बढ्नसक्छ । विदेशी साझेदारहरुसँगको सहकार्य र यसलाई ल्याउने सकारात्मक तरंगको यो कोणबाट हेर्दा बीपीसिएलको एफपीओमा लगानी गर्नेले पछुताउनुपर्ने छैन ।
निरन्तर बढ्दो नाफा र आम्दानी
तीन चाइनिज कम्पनीसँग संयुक्त लगानीको सम्झौता नगर्दै बुटवल पावर कम्पनी लिमीटेडले नाफालाई बढाइरहेको देखिन्छ । जस्तो, गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड १५ लाख रुपैयाँ रहेको खूद नाफा बढाएर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७ करोड २२ लाख कमाएको छ । बिजुली बेचेर गत वर्षको पहिलो त्रैमासमा १५ करोड ७१ लाख कमाएको कम्पनीले चालु आबको सोही अवधिमा यस्तो आम्दानी बढाएर २१ करोड ११ लाखको उचाईमा पुर्याएको छ । सन् २०१६ मा यो कम्पनीले गरेको कुल आम्दानीमध्ये ७८ प्रतिशत आम्दानी नेपाल विद्युत प्राधिकरणलाई बिजुली बेचरै प्राप्त भएको थियो ।
यसरी, बिजुली बिक्रीबाट हुने आम्दानी र खूद नाफातर्फको बढोत्तरीले समेत कम्पनी निरन्तर प्रगति पथमै लम्किएको बुझ्न गाह्रो छैन । निरन्तर उकालो यात्रा लागिरहेको कम्पनीको एफपीओमा लगानी गर्दा डूब्ने जोखिम पनि कमै हुन्छ ।
विगतका केही वर्षहरुमा कम्पनीले सेयरधनीलाई राम्रैै प्रतिफल दिइरहेको छ । आर्थिक वर्ष २०७२/७३ मा मात्रै यो कम्पनीले लगानीकर्तालाई बोनस सेयर र नगद लाभांश गरी ४७ प्रतिशत बराबरको लाभांश वितरण गरेको थियो । त्यसअघिका वर्षहरुमा समेत लाभांश ३० प्रतिशतभन्दा तल झरेको छैन । लगातार राम्रो लाभांश दिइरहेका कारण समेत बुटवल पावर कम्पनी लगानीकर्ताहरुको नजरमा आकर्षक कम्पनी बन्ने गरेको छ ।
बुटवल पावर कम्पनीको स्थापना सन् १९९६ मा नेपाल सरकार र यूनाइटेड मिसन टु नेपालले संयुक्त रुपमा गरेका थिए । नेपाल सरकारले यो कम्पनीलाई सन् २००३–०४ मा निजी क्षेत्रका लगानीकर्तालाई सेयर बिक्री गरी निजीकरण गरेको थियो । हाल यो कम्पनीमा सांग्रीला इनर्जी लिमीटेडको ६९ प्रतिशत, विद्युत प्राधिकरण र एनआइडिसी डेभलपमेन्टसहित नेपाल सरकारको १०.२ प्रतिशत, इन्टरक्र्याफ्ट नेपाल एएस र नर्वेको ११ प्रतिशत तथा यूनाइटेड मिसन टु नेपालको १.७ प्रतिशत सेयर स्वामित्व रहेको छ । बाँकी १३ प्रतिशतको हाराहारीमा सर्वसाधारणको सेयर छ । एफपीओपछि कम्पनीमा सर्वसाधारणको सेयर स्वामित्व ३० प्रतिशत पुग्नेछ ।
कति गर्ने लगानी ?
बुटवल पावर कम्पनीको एफपीओमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार ४ सय कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । यसको अर्थ साथमा ५ हजार १० रुपैयाँ हुनेले समेत आवेदन दिन सक्नेछन् । धितोपत्र बोर्डले पछिल्लो पटक सार्वजनिक निश्कासनहरुको बाँडफाँडमा प्रति लगानीकर्ता १० कित्ता सेयर अनिवार्य पाउने व्यवस्था गरेपछि यो कम्पनीमा समेत सो व्यवस्था लागू हुनेछ । यसरी १० कित्ताकै दरले हिसाब गर्दा समेत यो कम्पनीको एफपीओमा ४ लाख ८ हजार १ सय भन्दा बढीले आवेदन दिनुपर्नेछ ।
हालसालैका सार्वजनिक निश्कासनहरुमा परेका आवेदनको अवस्थामा हेर्दा यो कम्पनीको एफपीओमा २ लाखको हाराहारीमा आवेदनहरु पर्नसक्ने देखिन्छ । यसको अर्थ बुटवल पावरको एफपीओमा न्यूनतमा पनि २० कित्ताका लागि आवेदन दिए सेयर पर्ने संभावना प्रवल देखिन्छ । कुनै कारणबस आवेदकको संख्या अचाक्ली नै भयो भने पनि १० कित्ता न्यूनतम सेयर पाउने अवस्था चाहि सुनिश्चित झै देखिन्छ । अन्य सार्वजनिक निश्कासनमा झै आवेदन दिएर हिस्स पर्नुपर्ने अवस्था बीपीसिएलको हकमा हुने देखिन्न ।
यो पनि पढ्नुहोस् :
बुटवल पावरको ४०.८१ लाख कित्ता एफपीओ निश्कासन, प्रतिकित्ता मूल्य ५०१ रुपैयाँ
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago