काठमाण्डौ । लामो समयपछि एकैदिन(बुुधबार) चार कम्पनीका लगानीकर्ता मालामाल भएका छन् । मालामाल हुने कम्पनी ठूला नभई नपत्याउँदा र साना छन् । नेप्से परिसूचक २.५५ अंकले बढेर कारोबार रकममा उच्च गिरावट आउँदा समेत चार कम्पनीले भने कुस्त कमाए । 

बुुधबार तीन समूहको सूचक हराभरा भयो भने चार समूहको सूचकमा रातो पोतियो । तथापि, क वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स र समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.३९ र ०.१७ अंकको बढोत्तरी भयो । 

यो दिन वाणिज्य बैंक समूह ३.५९, विकास बैंक ७.२९ र बिमा समूह २७.७१ अंकले बढे । होटल, बित्त, जलविद्युत र अन्य समूहमा क्रमशः ९.७, १३.११, ६.७२ र ०.५८ अंकको गिरावट आयो । 

धेरै कारोबार गर्ने कम्पनी
बुधबार १ सय ५२ कम्पनीका १९ लाख १४ हजार ६ सय ५९ कित्ता सेयर ६४ करोड २ लाख ४४ हजार ९ सय ८८ रुपैयाँमा किनबेच भयो । सबैभन्दा बढी सोल्टी होटलले ७ करोड ६३ लाख बढीको कारोबार गर्यो । मुक्तिनाथ विकास बैंकको ३ करोड ७१ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ७६ लाख, एनसीसी बैंकले २ करोड ४७ लाख, जनता बैंकले १ करोड ९३ लाख बढीको कारोबार गरे । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ५ स्थान वाणिज्य बैंकले कब्जा जमायो भने बाँकी ५ स्थानमा विकास बैंक, बिमा, होटल, जलविद्युत र अन्य समूहले १ १ स्थान कब्जा गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
स्थिर बजारमा चार कम्पनीका लगानीकर्ता मालामाल भए । फरवार्ड माइक्रो फाइनान्स, अरुण फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, कुुबेर मर्चेन्ट फाइनान्सको सेयर मूल्य एकैदिन १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । 

यस्तै, बढी गुमाउनेमा सिनर्जी फाइनान्स र नागरिक लगानीकोष अगाडि देखिए । यी दुवै कम्पनीको सेयर मूल्य क्रमशः ४.९१ र ४.१९ प्रतिशतले घट्यो ।