काठमाण्डौ । युनियन हाइड्रोपावर कम्पनी लिमीटेडले सर्वसाधारणका लागि ३५ लाख ३४ हजार ३४० कित्ता आइपीओ आज(चैत १३ गते)देखि निश्कासन गरेको छ । 

आइपीओमा छिटोमा चैत १७ गते र ढिलोमा बैशाख १२ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । 

इच्छुकले न्यूनतम ५० देखि अधिकतम ३५००० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । प्रतिकित्ता १०० रुपैयाँ दरले सेयर निश्कासन हुने भएकोले साथमा ५ हजार रुपैयाँ हुनेले यो कम्पनीको सेयरमा आवेदन दिन सक्नेछन्।

यो कम्पनीले गत साउन १४ गतेदेखि आयोजना प्रभावितका लागि ७ लाख ५० हजार कित्ता आइपीओ निश्कासन गरेको थियो । तर, ६ लाख २१ हजार ७९० कित्ता बिक्री भएको थिएन । बिक्री नभएको सो कित्ता समेत जोडेर सर्वसाधारणका लागि ३५ लाख ३४ हजार ३४० कित्ता आइपीओ निश्कासनका लागि धितोपत्र बोर्डले माघ २८ गते कम्पनीलाई अनुमति दिएको थियो । 

यसअघि सर्वसाधारणका लागि २९ लाख १२ हजार ५ सय कित्ता सेयर छुट्याइएको थियो ।

आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमीटेड रहेको छ । 

इक्रा नेपालले यो कम्पनीको आइपीओलाई ग्रेड फाइभको रेटिङ दिएको छ, जसको अर्थ कम्पनीको अवस्था कमजोर छ भन्ने हो । 

युनियन  हाइड्रोपावरले ३  मेगावाट क्षमताको मिदिम खोला जलविद्युत आयोजना निर्माण पूरा भई २०७४ माघ १५ गतेदेखि व्यापारिक उत्पादन सुरु भइसकेको छ । यो कम्पनीले २३ मेगावाटको मेगाखोला प्रोजेक्ट निर्माणको समेत अनुमति पाइसकेको छ ।

यो आयोजनाको कुल लागत ७९ करोड ४० लाख रहेको छ । प्रति मेगावाट लागत मूल्य २६ करोड ५० लाख हुने अनुमान गरिएको छ । आइपीओपछि कम्पनीमा प्रमोटर र सर्वसाधारण सेयरधनीको सेयर अनुपात ५१.१६ः ४८.८३ प्रतिशत कायम हुनेछ ।

वित्तीय अवस्था र प्रक्षेपण

यो कम्पनीको आइपीओ लगानी गर्नेले आर्थिक वर्ष ०७७/७८ देखि मात्र रिटर्न पाउने अवस्था देखिन्छ । 

कम्पनीले प्रकाशन गरेको विवरणपत्रका अनुसार आ.ब. ०७६/७७ सम्म कम्पनीको प्रतिसेयर आम्दानी घाटामा हुनेछ । ०७७/७८ मा मात्र प्रतिसेयर आम्दानी ३.७५ रुपैयाँ हुने प्रक्षेपण गरेको देखिन्छ । आ.ब. ०७८/७९ मा कम्पनीको प्रतिसेयर आम्दानी  ४ रुपैयाँ ७० पैसा हुनेछ ।

यो कम्पनीको प्रतिसेयर नेटवर्थ आर्थिक वर्ष ०७८/०७९ मात्र १०० रुपैयाँ माथि हुनेछ, त्यसअघि १०० भन्दा तलै कायम हुने प्रक्षेपण छ ।

यो कम्पनी ०७८/७९ सम्मै सञ्चित नोक्सानीमा हुनेछ । तर, नोक्सानी क्रमशः घटाउँदै लगिने र आर्थिक वर्ष ०७८-७९ मा सञ्चित नोक्सानीलाई २ करोड ३३ लाखमा सीमित गर्ने कम्पनीको लक्ष्य छ ।

यो आयोजनाको प्रति मेगावाट लागत २६ करोड ५० लाख रुपैयाँ रहेको छ ।

साधारण लगानी फिर्ता अवधि १०.६१ वर्षको हुनेछ भने डिक्स्काउण्टमा लगानी फिर्ता अवधि २३.२३ वर्षको हुने बताइएको छ । 

यो आयोजनाले विद्युत उत्पादन थालेको पहिलोदेखि १२ औं महिनासम्म सुख्खा याममा ८.४० रुपैयाँ र वर्षायाममा ४.८० रुपैयाँ प्रति युनिटका दरले विद्यूत खरीद दर कायम गरिएको छ । 

यसैगरी, १३ औं महिनादेखि २४ औं महिनासम्मा सुख्खायाममा ८.६५ रुपैयाँ र वर्षायाममा ४.९४ रुपैयाँ तथा २५ औं महिनादेखि सम्झौताको अवधिसम्म सुख्खायाममा ८.९० रुपैयाँ र वर्षायाममा ५.०९ रुपैयाँ विद्युत खरीद दर कायम गरिएको छ । 

कम्पनीले आयोजना सफलतापूर्वक संचालनमा रहेको हुँदा जोखिम न्यून रहेको र भविष्यमा निर्माण गरिने  आयोजनामा यस अनुभवलाई सँगाल्दै त्रुटि सच्याउँदै अझ प्रतिफलमूलक आयोजना निर्माण गरिने दाबी गरेको छ।

यो कम्पनी आर्थिक वर्ष २०७४/७५ मा ४ करोड २६ लाख घाटामा रहेको छ। 

कम्पनीले आ.ब. २०७४/ ७५ मा विद्युत बिक्रीबाट २ करोड ८१ लाख आम्दानी गरिसकेको छ । यस्तै, चालु आर्थिक वर्षको असोज मसान्तसम्म विद्युत बिक्रीबाट २ करोड १५ लाख आम्दानी गरेको विवरणपत्रमा उल्लेख छ ।

विद्युत खरीद बिक्री सम्झौता भन्दा व्यवसायिक उत्पादन ३४ महिना २ दिन ढिलो हुन गएकोले यो कम्पनीले विद्युत प्राधिकरणलाई १ करोड ३० लाख ८४ हजार क्षतिपूर्ति स्वरुप तिर्नुपरेको देखिन्छ ।

कम्पनीले आर्थिक वर्ष ०७७ /७८ मा विद्युत बिक्रीबाट ८ करोड ५२ लाख आम्दानी हुने प्रक्षेपण गरेको छ।

कुल आय, खर्च, संचालन खर्च, खूद मुनाफा लगायतका इण्डीकेटरहरुमा हुनसक्ने औसत वृद्धिदरको प्रक्षेपण निम्नअनुसार गरिएको छ: