– प्रकाश न्यौपाने

काठमाण्डौ । पछिल्लो समय सेयर बजारमा कमाउनेभन्दा गुमाउनेको संख्या बढ्दै गएको देखिन्छ। अर्थतन्त्र कमजोर हुँदै जानु, बैंकहरुले ऋण प्रवाह गर्न नसक्नु, आर्थिक गतिविधि सुस्ताउँदै जानु र राष्ट्र बैंकले बजारमैत्री नीति नल्याउनुले पनि सेयर बजारमा दबाब परिरहेको देखिन्छ।

बजारमा लामो समयदेखि कारोबार गर्दै आएका लगानीकर्ता मुकुन्द पौडेलको अनुभव। आमलगानीकर्ताका लागि पाठ हुन सक्छ। ‘हिमालयन डिस्टिलरीको सेयर २०६५–६६ मा १०० रुपैयाँआसपास दोस्रो बजारमा कारोबार भएको थियो’, उनी सम्झिन्छन्, ‘त्यतिबेला यो कम्पनीको सेयर किनेर नेप्से ३२०० विन्दु छँदा बिक्री गर्ने लगानीकर्ताले निकै मनग्य कमाए।’

शिवम सिमेन्ट सेयर कारोबारका विषयमा पनि पौडेलले रोचक कुरा सुनाए। ‘सुरुमै ३०० रुपैयाँमा सर्वसाधारणका लागि बिक्रीमा आएको शिवम सिमेन्टमा धैरै पुरानै लगानीकर्ताले पनि खरिद आवेदन नै दिएनन्’, उनले भने, ‘तर, यही कम्पनीको सेयर ६ गुणासम्म माथि पुग्यो।’

राम्रा र बलिया कम्पनीमा अध्ययन गरेर लगानी गर्दा राम्रै कमाइ गर्न सकिने पौडेलको अनुभव छ। ‘सेयरमा बिक्रीचाप बढेका बेला र अन्य लगानीकर्ता आत्तिएका बेला आफूसँग भएको पैसाले सेयर उठाउँदै जानुपर्छ’, उनले सुझाव दिँदै भने, ‘किनकि फेरि आउने बुलमा नसोचेको नाफा कमाउन सकिनेछ।’

आफूले ११७५ को बुलमा घडेरी बेचेर सेयर बजरमा लगानी गर्दा निकै घाटा व्यहारेको तीतो अनुभव पनि पौडेलले सुनाए। ‘बजार ३०० को विन्दुमा झर्यो, निकै घाटा खाएँ’, उनले भने, ‘माथिल्लो विन्दुमा आफूसँग भएको ठूलो रकम लगानी गरी बजार घट्दै जाँदा फेरि एभरेजिङका लागि ऋण लिएर लगानी थप्दा झनै ठूलो घाटा भयो।’

ठूलै घाटा भए पनि पौडेल आत्तिएनन्। त्यसपछि पनि उनको सक्रियता सेयर बजारमा झनै बढ्यो। ‘मैले पहिलेको घाटा कभर गरेर फेरि काठमाण्डौमै घर–घडेरी जोड्न सफल भएँ’, उनले भने। 

नजानीकन लगानी गर्ने र बजार घट्दै जाँदा एभरेजिङ गर्दै जाने लगानीकर्ताको संख्या धेरै रहेको पौडेल बताउँछन्। ‘कमाउनेभन्दा गुमाउनेको संख्या बढ्नु मुख्य कारण उच्च विन्दुमा झनै कमजोर कम्पनी किनेर घट्दो बजारमा एभरेजिङ गर्नु नै हो’, उनले भने। 

बजारमा अनुभव बटुल्दै जाँदा प्राविधिक र आधारभूत विश्लेषणमा पनि राम्रो दक्षता हासिल गर्दै जानुपर्ने पौडेलको भनाइ छ। विशेषगरी नयाँ लगानीकर्ताहरुलाई सुझाव दिँदै उनी भन्छन्, ‘अरुको कुरामात्र सुनेर हौसिएर दोस्रो बजारमा लगानी गर्नुहुँदैन, आफैँ बुझेर र अध्ययन गरेरमात्र लगानी गर्नुपर्छ।’

बुल र बियर थाहा नपाउँदा धेरैको लगानी डुबेको पौडेल बताउँछन्। ‘सेयर बजार जोखिमको क्षेत्र भएको हुनाले धेरै बढेको बजारमा भन्दा माथिल्लो विन्दुबाट करिब ३० प्रतिशत घटेपछि बजार प्रवेश गर्नु उचित हुन्छ’, उनले भने, ‘त्यसपछि १०० प्रतिशत बजार बढेपछि बिक्री गर्नेले राम्रो नाफा कमाउन सक्छन्।’