काठमाण्डौ । दोश्रो बजारमै सेयर मूूल्य दिनहूँ घट्न थालेपछि बुटवल पावर कम्पनी लिमीटेडले निश्कासन गरेको एफपीओमा आवेदन पर्ने क्रम ह्वात्तै घटेको छ । कम्पनीले एफपीओका लागि तोकेको दर छेउछाउमै दोश्रो बजारको भाउ पुुग्ने अवस्था देखिएपछि ठूूला लगानीकर्ताले एफपीओ भरेनन् ।  

पहिलो चरणका ४ दिनमा मागेजति आवेदन नपरेपछि दोश्रो चरणमा अधिकतम भनी तोकिएको मितिसम्म नै आवेदन लिन सकिने व्यवस्था गरिए पनि पाँचौ दिन भने आवेदकको संख्या अघिल्ला ४ दिनको तुलनामा ह्वात्तै घटेको देखिएको हो । 

चौथो दिनसम्म यो कम्पनीको एफपीओमा २७ हजार आवेदकले साढे ३८ करोडको हाराहारीमा एफपीओ खरीदका लागि आवेदन दिएका थिए । तर, पाँचौ दिन आइतबार देशभरबा ६ हजार जनाले १७ करोडको हाराहारीमा मात्र खरीद प्रस्ताव पेश गरेका छन् । 

कम्पनीको एफपीओ खुलेपछिको पहिलो, दोश्रो र तेश्रो दिन परेका आवेदनको तुलनामा समेत पाँचौ दिनमा परेको आवेदन न्यून मात्र हो । 

यो कम्पनीको एफपीओमा पाँचौ दिन सम्म १.२ अर्ब बराबरको आवेदन परेको देखिएको छ । 

हालसम्म देशका करिब ७५ हजार जनाले सेयर खरीदका लागि आवेदन पेश गरेका छन् ।

बिक्री प्रबन्धक एनएमबी क्यापिटलस्थित स्रोतका अनुसार ४० लाख ८१ हजार कित्ता एफपीओमा अझै निकै धेरै आवेदन पर्नुपर्ने देखिए पनि रफ्तार भने निकै कम भएको देखिएको छ ।

एफपीओमा न्यून आवेदन परेकै कारण बिक्री प्रबन्धकले सबै कित्ता सेयर बिक्रीको प्रयासका लागि आगामी फागुन १५ गतेसम्म आवेदन दिने समय थप गरेको छ । यो मिति भनेको कम्पनीको एफपीओमा आवेदन दिने अधिकतम मिति समेत हो ।

बुटवल पावर कम्पनीको दोश्रो बजार मूल्य पछिल्लो समय घटिरहेकोले समेत धेरै लगानीकर्ताले एफपीओ नभरेका देखिएको छ । कम्पनीको एफपीओको बिषयमा बजार तताएको बिषयमा कम्पनीले प्रष्ट पार्न नसक्दा समेत एफपीओमा कम आकर्षण देखिएको छ । कम्पनीको सेयरमा गिरावट जारी रहेकोले फागुन १५ गतेसम्म पनि यो कम्पनीको सबै कित्ता सेयर बिक्री भएन भने आश्चर्य नमान्दा हुन्छ । 

आइतबार मात्र बुटवल पावर कम्पनीको सेयर मूल्य ५.०७ प्रतिशतले घट्न पुग्यो । यस्तै, सोमबार पनि कम्पनीको मूल्य ४ प्रतिशतको हाराहारीमा घटेको छ । हाल यो कम्पीको मूल्य प्रतिकित्ता ५५८ रुपैयाँमा झरिसकेको छ । 

बुटवल पावर कम्पनी लिमीटेडले माघ १५ गते(आजदेखि) ४० लाख ८१ हजार कित्ता साधारण सेयरको अतिरिक्त निश्कासन(एफपीओ) गरेको हो ।

यो कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा ४०१ रुपैयाँ प्रिमियम थपी प्रतिकित्ता ५०१ रुपैयाँको दरले कुल २ अर्ब ४ करोड रुपैयाँ बराबरको एफपीओ निश्कासन  गरेको हो । 

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार ४ सय कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।

इच्छुक लगानीकर्ताले आस्वा सेवा संचालनको अनुमति पाएका सबै बैंक तथा बित्तीय संस्था र तिनका शाखाहरुबाट आवेदन दिन सक्नेछन् ।

एफपीओ बिक्रीपछि कम्पनीको चुक्तापूँजी २ अर्ब २१ करोड र रिजर्ब बढेर १ अर्ब ५० करोडको उचाईमा पुग्नेछ । 

बुटवल पावर कम्पनी लिमीटेडले एफपीओबाट संकलित रकम ३७.६ मेगावाटको काबेली ए हाइड्रोपावर प्रोजेक्ट तथा ३० मेगावाटका ङादी  हाइड्रोपावर प्रोजेक्ट निर्माणमा खर्च गर्ने योजना बनाएको छ । बुटवल पावर कम्पनीको काबेलीमा ५४ प्रतिशत र ङादीमा ९७ प्रतिशत सेयर स्वामित्व रहेको छ ।