काठमाण्डौ । बेलायतस्थित राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले मृत्यु भइसकेका १० हजार ९०० क्यान्सरपीडितलाई पठाएको कोरोनाभाइरस संक्रमण हुन सक्ने चेतावनीपत्रले यतिबेला विश्वभर हंगामा मच्चिएको छ।

मृत्यु भइसकेका व्यक्तिलाई यसरी कोरोना संक्रमण हुन सक्ने चेतावनीपत्र दिइएकोमा एनएचएसको चौतर्फी आलोचना पनि भइरहेको छ। उता पीडित परिवारका सदस्य भने एनएचएसको यस्तो हकर्तले थप मर्माहत भएका छन्। 

त्यसो त एनएचएसले प्राविधिक त्रुटिका कारण यस्तो हुन गएको भन्दै पीडित परिवारसँग माफी पनि मागेको छ। उसले प्राविधिक त्रुटिले सन् २००६ देखि २०१७ सम्म फोक्सो क्यान्सरबाट पीडित रेडियो थेरापी गरेकाहरुलाई चेतावनीपत्र मेलमार्फत पुगेको जनाएको छ। 

एनएचएसले करिब ९० हजार विभिन्न रोगबाट ग्रसित बिरामीलाई कोरोना संक्रमण हुन सक्ने भन्दै चेतावनीपत्र पठाएको थियो। जसमा करिब १४ वर्षअघि नै मृत्यु भइसकेका ती १० हजार ९०० क्यान्सरका बिरामीका परिवारलाई पनि उक्त चेतावनीपत्र पुगेपछि बेलायतमा खैलाबैला नै मच्चिएको हो।

उक्त चेतावनीपत्र एनएचएसका वरिष्ठ मेडिकल अधिकृत क्रिस ह्विट्टीले प्रमाणित गरेका छन्। कम्प्युटरबाट पठाइएको चेतावनीपत्र त्रुटि देखिएपछि अहिले उक्त प्रक्रिया रोकिएको एनएचएस डिजिटेलले जनाएको छ। ‘हामीले पठाएको पत्रबाट मृतकका परिवारमा पर्न गएको थप पीडाबाट हामी निकै दुःख छौँ, यसबाट पर्न गएको मर्माहप्रति हामी क्षमायाचना गर्न चाहन्छौँ’, एनएचएस डिजेटलले भनेको छ।

गत महिना वेल्स सरकारले पनि १३ हजार कोरोना चेतावनीपत्र गलत ठेगानामा पठाएको घटना सार्वजनिक भएको थियो। – एजेन्सी