काठमाण्डौ । बेलायतले गरिब देशहरुलाई कोरोनाविरुद्धको खोपको १० करोड डोज अनुदानमा उपलब्ध गराउने भएको छ।

बेलायतले अबको केही साताभित्रै गरिब देशहरुलाई खोप अनुदानमा दिन सुरु गर्ने बताइएको छ। बेलायतले आगामी सेप्टेम्बरसम्म ५० लाख डोज बाँकी ९ करोड ५० लाख डोज १ वर्षभित्र वितरण गर्नेछ। 

बेलायतले २०२१ को अन्त्यसम्म २ करोड ५० लाख डोज गरिब देशहरुलाई अनुदान दिने लक्ष्य राखेको छ। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले गत फेब्रअुरीमा आफ्नो देशमा बढी भएको खोप गरिब देशहरुलाई बाँड्ने बताएका थिए। उनले ५० लाख डोज गरिब मुलुकहरुलाई दिँदा आफ्नो देशको खोप कार्यक्रम प्रभावित नहुने उल्लेख गरेका थिए।

प्रधानमन्त्री जोनसनले आजबाट सुरु हुने जी ७ मुलुकको शिखर सम्मेलनमा यसबारे औपचारिक घोषणा गर्ने अनुमान गरिएको छ। 
बेलायतले दिन लागेको खोपमध्ये ८० प्रतिशत कोभ्याक्समार्फत र बाँकी २० प्रतिशत खोप बेलायतले छानेका देशमा सोझै पठाइने बताइएको छ।

यसअघि अमेरिकाले सनु २०२२ सम्म गरिब मुलुकहरुलाई बाँड्न फाइजर कम्पनीसँग ५० करोड डोज किन्ने घोषणा गरिसकेको छ। –एजेन्सी