काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स नदिने संकेत गरेको छ। 

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा भीष्मराज ढुंगानाले नै बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने विषयलाई ६ महिना बितिसक्दासमेत नेपथ्यमा पारेको बोर्डकै एक अधिकारीले खुलासा गरेका छन्। पुँजीबजारका लागि बहुप्रतिक्षित बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने विषय नै हाल बोर्डले प्राथमिकतामा नराखेका ती अधिकारी दाबी गर्छन्। अर्थ मन्त्रालयले समेत ग्रिन सिग्नल दिइसकेको अवस्थामा पनि बोर्डले बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने मुद्दा नै तुहिन गइरहेको ती अधिकारी जिकिर गर्छन्।

धितोपत्रसम्बन्धी विद्यमान ऐनलाई टेकेर नै पनि हाल धितोपत्र दोस्रो बजार सेवा अर्थात खरिदबिक्री सेवाको पहुँचसमेत देशव्यापी बनाउनुपर्ने आवश्यकतालाई सम्बोधन गर्न बैंकका सहायक कम्पनीलाई लाइसेन्स दिनसक्ने अधिकार र अर्थ समितिबाट समेत भएको निर्देशनलाई बोर्ड अध्यक्ष ढुंगानाले बेवास्ता गर्नुका पछाडि आर्थिक चलखेलले प्रशस्त प्रश्रय पाइरहेको त हैन भन्ने प्रश्न उब्जेको बोर्डका अर्का एक अधिकारी बताउँछन्।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्कमा बनेको कमिटीले दिएको ५८ बुँदे सुझाव र अर्थ समितिको रामकुमारी झाँक्री संयोजकत्वमा बनेको कमिटीले समेत तयार पारेको अध्ययन प्रतिवेदन बेवास्ता गर्दै अब बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स लगभग नदिने पक्कापक्की भएको बोर्ड स्रोत दाबी गर्छ। 

अर्थ समितिअन्तर्गत गठित मुद्रा तथा पुँजीबजारसम्बन्धी अध्ययन उपसमितिले गत असारमै बुझाइएको प्रतिवेदनमा विभिन्न ११ सवालहरुको सम्बोधन गरी बैंकका सहायक कम्पनीलाई धितोपत्र दलाल व्यवसायी अनुमतिपत्र दिन उचित देखिने उल्लेख छ। दुईवटा अध्ययन समितिअन्तर्गत गठित मुद्रा तथा पुँजीबजारसम्बन्धी अध्ययन समितिले बैंकका सहायक कम्पनीलाई धितोपत्र दलाल व्यवसायी अनुमतिपत्र दिन उचित देखिँदासमेत हाल धितोपत्र बोर्ड मौन छ। 

यस विषयमा बुझ्न खोज्दा अध्यक्ष ढुंगाना सम्पर्कमा आएनन्।