काठमाण्डौ । बुधबार पनि पूँजीबजारमा वाणिज्य बैंकहरुले नै राम्रो व्यापार गरेका छन् । समूह सूचक ओरालो लागे पनि धेरै सेयर कारोबार गर्ने कम्पनीहरुमा वाणिज्य बैंक नै अगाडि देखिएका हुन् । 

वाणिज्य बैंक बाहेक सबै समूहको सूचक उकालो लागे पनि समग्र नेप्से परिसूचक चाहि ०.४ अंकको झिनो बढोत्तरीका कारण १७२४.५९ को नयाँ उचाईमा पुगेको छ । 

पूँजीवृद्धिको नीति अनुसार ८ अर्ब पुर्याउन हकप्रद र बोनस सेयर जारी गर्ने चटारोमा रहेका र आर्थिक वर्ष सकिन लाग्दा राम्रो बोनस पाइने आशामा समेत लगानीकर्ताहरुले वाणिज्य बैंकलाई रोजेका देखिएको छ । 

बुधबार वाणिज्य बैंक समूहे ८.५६ अंकले घट्यो भने बाँकी सबै समूह उकालो लागे । सबैभन्दा धेरै बिमा समूह ६२.६५ अंकले उक्लियो । होटल समूह २९.१६ अंकले उक्लिँदा विकास बैंक समूह १६.०१, जलविद्युत १५.११, बित्त ४.७३, उत्पादनमूलक ४.४४ र अन्य समूह २.३५ अंकले उकालो लागे । सेन्सेटिभ इण्डेक्स ०.४५ अंकले ओरालो लाग्यो भने फ्लोट इण्डेक्समा ०.१३ अंकको बढोत्तरी देखियो । 

मंगलबारको तुलनामा कारोबार रकम पनि केही कम भयो । १ सय ३७ कम्पनीका ४६ लाख ८२ हजार ६६ कित्ता सेयर १ अर्ब ५८ करोड १९ लाखमा किनबेच भयो । 

बुधबार सबैभन्दा धेरै नेपाल इन्स्योरेन्स कम्पनीको ५ करोड ७१ लाखको सेयर किनबेच भयो । एभरेष्ट बैंकले ५ करोड ५० लाख, रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले ५ करोड ३९ लाख, प्राइम लाइफ इन्स्योरेन्सले ४ करोड ९७ लाख, नेपाल बंगलादेश बैंकले ४ करोड ९२ लाख, नेपाल बैंकले ४ करोड ८५ लाख बराबरको कारोबार गरे । 

बुधबार धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ६ स्थान वाणिज्य बैंकले कब्जा गरे भने इन्स्योरेन्स ३ र माइक्रो फाइनान्स एक स्थानमा सीमित भयो ।