– रेखा चन्द
काठमाण्डौ । लगानीयोग्य रकम (तरलता) संकटबीच पनि वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ४२ खर्ब बढी रुपैयाँ कर्जा लगानी गरेका छन्।
असोज मसान्तसम्म वाणिज्य बैंकहरुले कुल ४२ खर्ब २० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन्। विगत १ वर्षदेखि वित्तीय क्षेत्रमा देखा परेको तरलता संकटकै बीचमा चालुु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आउँदा सञ्चालनमा रहेका वाणिज्य बैंकले उक्त रकम विभिन्न क्षेत्रमा लगानी गरेको नेपाल बैंकर्स एसोसिएन (एनबीए) ले जनाएको छ।
यस्तै असोज मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब ४७ अर्ब रुपैयाँ थियो। कात्तिक लागेयता भने वाणिज्य बैंकको कुल निक्षेप २३ अर्ब रुपैयाँले घटेको छ।
पछिल्लो समय बैंकहरुले कर्जा प्रवाहको तुुलनामा निक्षेप संकलनलाई बढी जोड दिएका छन्। तर, पनि बैंकिङ प्रणालीमा निक्षेप बढ्न सकेको छैन। निक्षेप बढ्न नसक्दा कर्जा प्रवाहमा कमी आएको छ।
यता बैंकहरु कर्जा दिन नसक्ने अवस्थामा रहेको भन्दै चौतर्फी चर्चा चल्दै आएको छ। के बैंकहरुले कर्जा ठप्प पारेका हुुन् ? कर्जा दिनै नसक्ने अवस्थामा बैंक छन् ? पक्कै पनि कर्जा प्रवाहमा कमी भने आएको छ। तर, बाहिरी रुपमा चलेको जस्तो हल्लामा भने सत्यता छैन।
तरलता संकटका कारण गत वर्षहरुको जसरी बैंकहरुले एग्रिसिभ रुपमा कर्जा लगानी गर्न सकेका छैनन्। तर, कर्जा प्रवाह ठप्प भने बनाएका छैनन्।
निश्चित रुपमा कर्जा प्रवाह सहज नभएको बैंकरहरुको भनाइ छ। यद्यपि सबै बैंकहरुले साना–साना कर्जाहरु भने दिइरहेको उनीहरुको तर्क छ। विशेषगरी बैंकहरुले अहिले साना तथा मझौला उद्योगअन्तर्गतका क्षेत्रमा कर्जा लगानी गरिरहेका छन्। केही सेलेक्टेड क्षेत्र तथा पहिले नै सम्झौता भएकाहरुलाई पनि बैंकले कर्जा दिइरहेका छन्।
एनएमबि बैंकका डेपुटी सीईओ सुुदेश उपाध्याय बैंकहरुको निक्षेप नबढेकोले पहिलेजस्तो कर्जा प्रवाह नभएको बताउँछन्। ‘तर कर्जा प्रवाह ठप्पै भने भएको छैन’, उनले भने, ‘बैंकिङ प्रणालीमा निक्षेप धेरै बढिसकेको छैन। निक्षेप नै नबढेपछि पहिलेको जसरी एग्रिसिभ कर्जा लगानी छैन। कर्जा प्रवाहको अवस्था अलि टाइट नै छ। तर, ठप्प नै भएको भने छैन।’
उपाध्यायका अनुसार अहिले साना–साना साइजका कर्जा प्रवाह भइरहेका छन्। ‘ठूलो साइजका कर्जा दिँदा पनि कम समयका लागि उपलब्ध भइरहेको छ’, उनले भने।
अहिले साना प्रकृतिका ऋणको माग भएकोमा त्यस्ता कर्जा दिइरहेको एक वाणिज्य बैंकका सीईओ बताउँछन्। ‘हामीले साना कर्जाहरुलाई रोकेका छैनौँ’, उनले भने।
माछापुुच्छ्रे बैंकका सूचना अधिकारी सुनिल खतिवडा पनि बैंकले कर्जा प्रवाह पूर्ण रुपमा नरोकेको बताउँछन्। गत वर्षहरुको तुलनामा कर्जा लगानी सुुस्त भएको उनको तर्क छ। ‘कर्जा प्रवाह पूर्ण रुपमा रोकिएको छैन तर अहिले अलि सुुस्त चाहिँ भएको छ’, उनले भने।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19