– रेखा चन्द

काठमाण्डौ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको संकटसँगै बैंकहरुको खराब कर्जा अनुुपात (एनपीएल) पनि थप चुुलिँदै गएको छ। 

चालुु आर्थिक वर्ष २०८९–८० को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणले बैंकहरुको एनपीएल बढिरहेको देखाएको हो। यो अवधिमा दुईवटा बैंकको मात्रै सकारात्मक देखिएको छ भने एउटाको स्थिर रहेको छ। अन्य बैंकको एनपीएल बढेको छ।

ऋणीलाई दिइएको ऋण निर्धारित समयमा उठाउन नसक्दा बैंकहरुको खराब कर्जा बढेको सरोकारवाला बताउँछन्। विभिन्न क्षेत्रमा गएका ब्याज नउठेपछि त्यसलाई सम्भावित जोखिमका रुपमा प्रोभिजन गर्नुपर्दा बैंकहरुको प्रोभिजन बढेकोले पनि एनपीएल बढेको बैंकरहरुको भनाइ छ। 

सिभिल बैंकका प्रमुुख कार्यकारी अधिकृत (सीईओ) सुुनिलकुमार पोखरेल पहिलेको तुुलनामा यो वर्ष उठ्नुुपर्ने कर्जा तथा ब्याजहरु नठ्दा वित्तीय सूूचकमा नकारात्मक प्रभाव परेको बताउँछन्। ‘प्रोभिजन रकम बढ्दा पनि एनपीएल बढेको हो’, उनले भने, ‘विगतमा पनि पहिलो त्रैमासको वित्तीय विवरण अलि प्रभावित नै हुन्थ्यो तर यसपालि अलि बढी घटेको छ। यसपालि उठनुपर्ने रकम नै अलि सुस्त रहेकाले पनि समस्या भयोे। प्रोभिजनबापतको रकम बढ्दा, ब्याज रिकभरी नहुँदा पनि बैंकहरुको नाफा घटेको र खराब कर्जा बढेको देखिन्छ।’

तिहारपछि भने कर्जा रिकभरी हुने सम्भावना रहेकाले आउँदो वित्तीय विवरण राम्रो आउन सक्ने सम्भावना रहेको सीईओ पोखरेलको भनाइ छ। खराब कर्जा जति कम भयो बैंकहरुको अवस्था त्यति नै राम्रो भएको मानिन्छ। 

वित्तीय विवरणअनुुसार चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा सबैभन्दा बढी एनपीएल सनराइज बैंकको रहेको छ। अघिल्लो वर्ष १.१३ प्रतिशतमा सीमित रहेको एनपीएल समीक्षा अवधिमा बढेर २.९४ प्रतिशत पुगेको छ। 

सबैभन्दा कम एनपीएल एभरेष्ट बैंकको रहेको छ। असोज मसान्तसम्ममा बैंकको एनपीएल ०.३३ प्रतिशत रहेको छ। गत वर्षको सोही अवधिमा बैंकको खराब कर्जा ०.१३ प्रतिशत रहेको थियो। समीक्षा अवधिमा एनपीएल ०.२० प्रतिशतले बढी हो।

अघिल्लो वर्ष १.९१ प्रतिशतमात्रै रहेको सिटिजन्स बैंकको एनपीएल अहिले बढेर २.८९ प्रतिशत पुुगेको छ। 

यस्तै यो अवधिमा एनसीसी बैंक र बैंक अफ काठमाण्डूको एनपीएल बढेर २.४६ प्रतिशत पुगेको छ। अघिल्लो वर्षमा यी बैंकको एनपीएल क्रमशः १.४८ प्रतिशत र ०.९२ प्रतिशतमा सीमित थियो।

कृषि विकास बैंकको बैंकको खराब कर्जा बढेर २.३८ प्रतिशत पुग्दा नबिल बैंकको २.३३ प्रतिशत पुगेको छ। त्यसैगरी हिमालयन बैंकको पनि गत वर्षको पहिलो त्रैमासमा ०.५८ प्रतिशत रहेको एनपीएल अहिले बढेर २.३१ प्रतिशत पुुगेको छ। सिद्धार्थ बैंकको एनपीएल ०.५४ प्रतिशतबाट बढेर २.१५ प्रतिशत पुुगेको छ भने ग्लोबल आईएमई बैंकको पनि १.६२ प्रतिशतबाट बढेर २.१० प्रतिशत पुगेको छ।

समीक्षा अवधिमा एनएमबी बैंकको एनपीएल बढेर १.९० प्रतिशत, लक्ष्मी बैंकको १.८६ प्रतिशत, प्राइम कर्मसियल बैंकको १.८० प्रतिशत, प्रभुु बैंकका १.६८ प्रतिशत, मेगा बैंकका १.६२ प्रतिशत, सिभिल बैंकको १.४१ प्रतिशत, माछापुुच्छ्रे बैंकको १.३० प्रतिशत र कुमारी बैंकको १.२८ प्रतिशत पुगेको छ। 

यस्तै सानिमा बैंकको एनपीएल ०.९१ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ०.७७ प्रतिशत, एनआईसी एशिया बैंकको ०.५६ प्रतिशत र नेपाल एसबिआई बैंकको ०.३६ प्रतिशत रहेको छ।

उता नेपाल इन्भेस्टमेन्ट बैंक र राष्ट्रिय वाणिज्य बैंकको एनपीएल भने घटेको छ। गत वर्ष २.२७ प्रतिशत रहेको नेपाल इन्भेस्टमेन्ट बैंकको एनपीएल अहिले घटेर १.५७ प्रतिशतमा झरेको छ। राष्ट्रिय वाणिज्य बैंकले पनि ३.०१ प्रतिशत रहेको एनपीएल घटाएर २.४६ प्रतिशतमा झारेको छ। 

सेन्चुुरी बैंकको एनपीएल भने स्थिर रहेर १.८८ मै कायम रहेको छ।

प्रथम त्रैमासमा वाणिज्य बैंकहरुले खासै नाफा कमाउन सकेनन्। जसले गर्दा वाणिज्य बैंकहरुको नाफामा अघिल्लो वर्षको यही अवधिको तुलनामा ५.९४ प्रतिशतले मात्रै बढेको छ। 

प्रथम त्रैमासमा २६ वाणिज्य बैंकमध्ये १४ वटाको नाफा बढेको छ भने १२ वटाको घटेको छ। वाणिज्य बैंकहरुको कुल नाफा १८ अर्ब ७५ करोड रुपैयाँ रहेको छ।