काठमाण्डौ ।  नेपालमा दिनप्रतिदिन मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या थपिने गरेको पाइएको छ ।

आमसर्वसाधारणको सहजता र क्यासलेस कारोबारको सबैभन्दा महत्वपूर्ण माध्ययमको रुपमा मोबाइल बैंकिङ फस्टाउँदै गएको छ ।

 

नेपाल राष्ट्र बैंकका अनुसार गत असोज महिनामात्रै ३ लाख २६ हजार ९३० जना नयाँ प्रयोगकर्ताहरु मोबाइल बैंकिङमा थपिएका छन् । केन्द्रीय बैंकले गत असोज मसान्तसम्ममा कुल मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको संख्या २ करोड २२ लाख ८४ हजार ६२२ पुगेको जानकारी दिएको छ ।

गत भदौ महिनामा भने मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको संख्या २ करोड १९ लाख ५७ हजार ६९२  थियो । समीक्षा अवधिमा मोबाइल बैंकिङमार्फत् २ अर्ब ७७ करोड ८२ लाख ४० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । 

यस्तै, २ करोड २ लाख ७६ हजार १६१ वालेट प्रयोगकर्ताहरूमार्फत् २२ करोड ७९ लाख ६० हजार रुपैयाँ कारोबार भएकोमा सोही अवधिमा १६ लाख २५ हजार इन्टरनेट प्रयोगकर्तामार्फत ११ करोड ८० लाख ८० हजार रुपैयाँ बराबरको भुक्तानी कारोबार भएको छ । 


समीक्षा अवधिमा कनेक्ट आईपीएसमार्फत् ४ अर्ब ७७ करोड ९१ लाख १० हजार रुपैयाँ, आरटीजीएस प्रणालीमार्फत् २७ अर्ब ५९ करोड ७९ लाख २० हजार रुपैयाँ र आईपीएसमार्फत २ अर्ब २७ करोड ७५ लाख ४० हजार रुपैयाँ कारोबार भएको छ । 


यता डेबिटरक्रेडिट कार्डमार्फत समीक्षा अवधिमा क्रमशः १ अर्ब ११ लाख रुपैयाँ र १ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेपालमा सन् २००५ मा पहिलो पटक मोबाइल बैंकिङको सुरुवात भएको हो। स्ट्यान्डर्ड चार्टर्ड बैंकले नेपालमा यो सेवाको सुरुवात गरेको हो। त्यसो त सन् २०१४ मा आएर मात्र पहिलोपटक मोबाइल स्मार्ट बैंकिङको सुरुवात भएको हो।मुलुकका सबै वाणिज्य बैंक र विकास बैंकमा अहिले मोबाइल बैंकिङ सेवा छ।

एकजना बैंकरले अझ यो सबैतिर लागू गर्ने हो भने क्यासलेस कारोबारलाई सफल बनाउन पनि मद्दत गर्ने बताए ।