– रेखा चन्द

काठमाण्डौ । प्रभु बैंकले सेञ्चुरी कर्मसियल बैंकलाई प्राप्ति गर्ने प्रस्ताव आजको बसेको २१ औँ वार्षिक साधारणबाट पारित गरेसँगै यही पुसभित्रै एकीकृत कारोबार गर्ने गरी तयारी थालेको छ। प्रभुले सेञ्चुरीलाई बराबरी हैसियत अर्थात १ः१ सेयर स्वाप रेसियोमा प्राप्ति गर्ने प्रस्ताव पारित गर्दै एकीकृत कारोबारको तयारी अघि बढेको हो।

प्रभुु बैंकको केन्द्रीय कार्यालयमा भएको वार्षिक साधारणसभाले ८ प्रतिशत लाभांश अनुुमोदन गरेको छ। बैंकको साधारणसभा उपस्थित अधिकांश सेयरधनीले विषम परिस्थितिबीच बैंकले ८ प्रतिशत लाभांश दिनुु स्वागतयोग्य रहेका बताएका छन्। 

केही सेयरधनीले भने सेञ्चुरी बैंकलाई प्राप्ति गर्दा बराबरी हैसियतमा नभई त्योभन्दा कम स्वाप रेसियोमा गर्नुपर्ने भन्दै गुनासो गरेका छन्। सेञ्चुरीलाई प्राप्ति गरेपश्चात डबल डिजिटमा लाभांश दिनुपर्ने माग उनीहरुको थियो। 

सभामा सेयरधनीले उठाएका प्रश्नहरुको जबाफ दिँदै बैंकका अध्यक्ष लीलाप्रकाश सिटौलाले राष्ट्र बैंकले पटक–पटक बिग मर्जरलाई जोड दिएकोले आफूहरुले सेञ्चुरीलाई एक्वायर गरेको प्रस्ट पारे। ‘सेयरधनीहरुका सल्लाह र सुझाव मनासिब छन्’, उनले भने। 

आगामी दिनमा खर्चलाई कसरी घटाउने, नाफा कसरी बढाउने र बैंकलाई यस्तो प्रतिस्पर्धी वातावरणमा कसरी अब्बल बैंक बनाउने भन्नेमा काम गरिने अध्यक्ष सिटौलाले बताए। ‘वर्षभरि काम गरेर बैंकले के प्राप्त गर्यो भन्ने कुरा महत्वपूण हो’, उनले भने, ‘अहिलेको स्थितिमा पनि झन्डै ११ प्रतिशतको अतिरिक्त सम्पति बैंकले सिर्जना गरेको छ, त्यसलाई हामीले सकारात्मक रुपमा लिनुपर्छ।’

आगामी दिनमा ओभरल बैंकको स्ट्याटेजीलाई परिवर्तन गर्दै अगाडि बढ्ने सिटौलाले बताए। ‘आगामी दिनहरु त्यति सहज छैनन्, खासगरी रुस र युक्रेन युुद्ध कन्ट्राडिससहित त्यसको प्रभाव १–२ वर्ष रहन सक्छ’, उनले भने, ‘वित्तीय क्षेत्रमा पनि त्यसको प्रभाव पर्ने देखिएको छ। खासगरी ओभरअल मनी सप्लाई पहिलाको जस्तो राम्रो हुन नसकेको अवस्था छ। जसले गर्दा तरलता पनि प्रभाव परेको छ र हाम्रो बैंकिङ सिस्टममा परेको अभावलाई हामीले दृष्टिगत गरेर अघि बढ्नेछौँ।’

सभामा सेयरधनी ब्रमदेव शाक्यले सेञ्चुरी बैंकलाई १ः१ को स्वाप रेसियो दिएर प्रभु बैंकले उदारता देखाएको बताए। ‘वित्तीय हिसाबले खराब अवस्थामा पुुगेको किस्ट बैंकलाई समेत मर्जर गरेर उदार गर्ने क्षमता राख्ने प्रभु बैंकले सेञ्चुरी बैंकलाई उदारताका साथ प्राप्ति गर्दैछ’, उनले भने।

मर्जरपछि कर्मचारीहरुको उचित व्यवस्थापन हुन्छ भन्नेमा आफू विश्वस्त रहेको शाक्यको भनाइ थियो। उनले आगामी दिनमा राम्रो प्रगति गर्न बैंकका व्यवस्थपनसहितका कर्मचारीहरुलाई सुझाव दिए। 

अर्का सेयरधनी शत्रुुघन श्रेष्ठले नेपालको अग्रणी बैंकका रुपमा स्थापित हुँदै आएको प्रभु बैंकले विगतदेखि नै सेयरधनीलाई आकर्षक प्रतिफल दिँदै आएको बताए। ‘प्रभु बैंकले जहिल्यै पनि राम्रै प्रतिफल दिएको छ’, उनले भने ‘तर, डुुब्नै लागेको र सेयरधनीलाई कहिल्यै राम्रो प्रतिफल दिन नसकेको सेञ्चुरीलाई समेत बराबरी हैसियतको स्वाप रेसियो दिएर प्राप्ति गर्नु राम्रो पक्ष हो।’

श्रेष्ठले सेञ्चुरीलाई प्राप्ति गरेपछि चुक्तापुँजीका हिसाबले प्रभुु तेस्रो ठूूलो बैंक बन्ने बताए। मर्जरपछि बैंकको २३ अर्ब ५४ करोड रुपैयाँ चुक्तापुँजी पुुग्ने उनको भनाइ थियो। 

यस्तै मर्जरपछि शाखा संख्या ३६५ र कर्मचारी संख्या ३ हजार ५७० पुग्ने श्रेष्ठले बताए। श्रेष्ठले आगामी वर्षको दसैँतिहारतिर साधारणसभा गर्न सुझाव पनि दिए। उनले भने, ‘सेञ्चुरीलाई प्राप्ति गरेपश्चात आगामी दिनमा सेयरधनीलाई कम्तीमा पनि २० प्रतिशत नघटाई लाभांश दिने आशा राखेका छौँ।’

अर्का सेयरधनी नर्सिङलाल चंखुले ८ प्रतिशत लाभांश दिएकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा डबल डिजिटको लाभांश दिन आग्रह गरे। ‘आम्दानीको क्षेत्रलाई बढाउने प्रयास बैंकले गरेको छ, वार्षिक प्रतिवेदन हेर्दा बैंक प्रगतिको पथ हिँडेको देखिन्छ’, उनले भने, ‘त्यसकारण लाभांश दरलाई बढाएर दोहोरो अंकमा दिनुपर्छ।’

खर्चमा वृद्धि भएकाले विगतको तुलनामा नेट प्रफिटमा संकुचन आएको चंखुले बताए। ‘यस्तै कस्ट अफ फन्ड पनि केही हाई छ, त्यसलाई मिनिमाईज गर्नेतर्फ प्रयास हुनुपर्छ’, उनले भने, ‘सीडी रेसियोलगायत क्यापिटल हाल कन्फर्टेंबल जोन रहेको मान्न सकिन्छ, त्यसमा पनि अझै सुुधार होस्।’

बैंकको एनपील रेसियो बढेकोले त्यसलाई पनि सुुधार गर्नुपर्ने चंखुको भनाइ छ। सीआरआरलाई बढाउने र शाखाहरु नाफामुखी बनाउनुपर्ने उनले बताए। 

सेञ्चुरीलाई प्राप्ति गर्ने निर्णय स्वागतयोग्य रहेको चंखुको भनाइ थियो। ‘मर्जरले बैंकिङ प्रणालीको सम्बोधन गर्छ भन्ने मेरो धारणा छ, प्रतिस्पर्धात्मक क्षमताको विकास पनि गर्छ, व्यापार र लगानीमा पनि प्रवर्द्धन गर्छ’, उनले भने ‘स्टेकहोल्डरलाई मजबुत बन्न, सम्भावित वित्तीय जोखिमलाई  न्यूनीकरण गर्दछ।’

लगानीकर्ता चन्द्र नारायण श्रेष्ठले सेन्चुरी बैंकको ग्रोथ बढिरहेको अवस्थामा रहेकाले मर्जर गर्ने निर्णय स्वागतयोग्य रहेको बताए। सबै काम सकेर छिटो भन्दा छिटो एकीकृत गर्न उनले सुझाव दिए।

वरिष्ठ अधिवक्ता अशोक उप्रेतीले बैंकका लागि आगामी दिन सहज नहुने उनले बताए। ‘अबको ३–४ वर्षमा कुनै परिवर्तन नआए बैंक चलाउन सहज छैन, बैंकिङ सिस्टममा अर्को ठूलो समस्या खडा हुनेछ’, उनले भने।