काठमाण्डौ । बैंक अफ काठमाण्डू (बीओके) लिमिटेडले आज सोमबारदेखि ३ लाख बढी कित्ता संस्थापक समूहको सेयर लिलामीमा राखेको छ।

बैंकले संस्थापक समूहको ३ लाख १६ हजार १५६ कित्ता सेयर लिलामीमार्फत बेच्न लागेको हो। विद्यमान संस्थापक तथा सर्वसाधारणले लिलामीमा राखेको सेयर खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। 

लिलामीमा राखिने सेयरको प्रतिकित्ता १४० रुपैयाँ तोकिएको छ। यसको मतलब लगानीकर्ताले सोही मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ। 

बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता वा सोभन्दा बढीका लागि १० अंकको गुणांकमा नेपाल राष्ट्र बैंकले तोकेको प्रतिव्यक्ति/संस्था सीमाको अधिनमा रहने गरी अधिकतम ३ लाख १६ हजार १५६ कित्ताका लागि आवेदन दिन सकिनेछ। 

सेयर बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ता संस्थापक सेयरधनी, अन्य इच्छुक व्यक्ति वा संगठन तथा संस्थाले भदौ ८ गतेसम्म काठमाण्डौको नागपोखरीस्थित एनएमबी क्यापिटलको कार्यालयमा आइपुग्ने गरी शिलबन्दी बोलपत्र आवेदन पेस गर्नुपर्नेछ।