काठमाण्डौ । गत वर्षको मुनाफाबाट प्रस्तावित बोनस सेयरका लागि नेपाल बंगलादेश बैंक लिमिटेडको सेयरमूल्यमा समायोजन गरिएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नेपाल बंग्लादेश बैंकले गत वर्षका लागि आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको ५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्यमा समायोजन गरेको छ । नेप्सेले यो बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १९५.२४ रुपैयाँ कायम गरेको छ । अब यो बैंकको कारोबार समायोजित मूल्यअनुसार नै खुल्नेछ ।

बैंक गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयरसँगै ७ प्रतिशत नगद लाभांश (लाभांश करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले प्रस्ताव गरेको कुल १२ प्रतिशत लाभांश आगामी पुस ७ गते गर्न लागेको २५ औँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।

मर्जर प्रक्रिया थाल्ने मुख्य अजेन्डाका रुपमा प्रस्तुत गरिनेछ । बैंकमा कुनै बैंक वा वित्तीय संस्था आपसमा गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा आवश्यक सहमतिरसम्झौता गर्ने तथा सो सम्बन्धमा प्रचलित कानुन तथा नियमअनुसार बैंकका तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय सभामा पारित हुनेछ ।

लाभांश र साधारणसभा प्रयोजनका लागि बैंकले आज बिहीबारदेखि बुक क्लोज गरेको छ ।