काठमाण्डौ । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भीष्मराज ढुंगानाले शुक्रबार पदभार सम्हाल्ने क्रममा पहिलो निर्णयका रुपमा नेपाल एसबीआई बैंकको साढे २ अर्ब रुपैयाँको ऋणपत्रलाई स्वीकृति प्रदान गरेका छन् । 

अर्थ मन्त्रालयमा शुक्रबार बिहान पद तथा गोपनीयताको सपथ ग्रहण गरेपछि ढुंगाना पदभार सम्हाल्न बोर्डको कार्यालय पुगेका थिए । त्यहाँ आफ्नो कार्यकक्षमा पहिलो निर्णयका रुपमा ढुंगानाले नेपाल एसबीआई बैंकको ऋणपत्रलाई स्वीकृति गरेका हुन् ।

नेपाल एसबीआई बैंक गत असोज १५ गते २ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासनका लागि बोर्डमा निवेदन दिएको थियो । दश वर्षे अवधिको ऋणपत्रमा लगानी गर्नेका लागि वार्षिक १० प्रतिशतको दरले ब्याज अफर गरिएको छ । ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुने बैंकले जनाएको छ ।

यो बैंकले निश्कासन गर्न लागेको ऋणपत्रको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमीटेड रहेको छ ।

सोमबार बसेको मन्त्रीपरिषद बैठकले ढुंगानालाई बोर्ड अध्यक्षमा नियुक्तिको निर्णय गरेको हो । उनलाई रेवतबहादुर कार्की बोर्ड अध्यक्षबाट अवकाश हुनुभन्दा केही साताअघि बोर्डकै विज्ञ सदस्यको रुपमा नियुक्त गरिएको थियो ।

सो बेलादेखि नै उनलाई धितोपत्र बोर्डको अध्यक्ष बनाउने योजनाका साथ विज्ञ सदस्य बनाइएको चर्चा भएको थियो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा। रामकुमार फूयाँलको संयोजकत्वमा गठित छनौट तथा सिफारिस समितिले बोर्ड अध्यक्षका लागि परेका आवेदनमध्येबाट ५ जनाको सर्टलिस्ट बनाएको थियो । ती पाँचमध्येबाट पनि ३ जनालाई छनौट गरी मन्त्रीपरिषदमा सिफारिस गरिएको थियो। सिफारिस तीन नाममध्ये ढुंगानालाई बोर्ड अध्यक्ष बनाउने निर्णय भएको प्रधानमन्त्री कार्यालयस्थित स्रोतले जनाएको छ।

ढुंगानासँगै बोर्डकै कार्यकारी निर्देशक निरज गिरी र डा। केशवप्रसाद श्रेष्ठको नाम पनि सिफारिस गरिएको थियो । तर, सिफारिस भएका अन्य २ नामलाई छाडेर क्याबिनेटले ढुंगानाको नाममा नियुक्तिको निर्णय गरेको हो ।

ढुंगाना राष्ट्रपति विद्यादेवी भण्डारीनिकट मानिन्छन् । सरकारका पछिल्ला अधिकांश निर्णयहरुमा राष्ट्रपतिको इच्छाले ठाउँ पाउन थालेको छ । यसैको पछिल्लो संस्करण बोर्ड अध्यक्षको नियुक्ति भएको छ । 

बोर्डको अध्यक्षको रुपमा नियुक्त ढुंगाना नेपाल राष्ट्रबैंकको कार्यकारी निर्देशकबाट रिटायर्ड व्यक्ति हुन् ।