काठमाण्डौ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई निर्देशन दिइएको छ ।

सार्वजनिक लेखा समितिले बोर्डका अध्यक्ष हमालको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई निर्देशन दिएको हो ।

त्यस्तै आज बसेको लेखा समितिको बैठकले प्रिमियम मूल्यमा निष्कासन भएका आईपीओको औचित्य र मूल्यांकनको पनि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।

हमाललाई लेखा समितिले प्रिमियमा जारी भएका आईपीओका विषयमा छलफल गर्न बिहीबार हमाललाई बोलाएको थियो । तर हमाल उक्त छलफलमा अनुपस्थिति भएका थिए । हमालको अनुपस्थितिमा कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ सहभागी भएका थिए । छलफलमा हमाल सहभागी नभएको भन्दै समितिले खेद प्रकट गरेको छ । 

छलफलमा रास्वपाका सांसद हरि ढकालले घोराही सिमेन्टको आईपीओ प्रिमियममा आएको विषय उठान गरे । प्रिमियममा आईपीओ निष्कासन गर्न कम्पनीलाई स्वार्थ बाझिने रेटिङ स्वीकृत गरेको उनले आरोप लगाए ।  

त्यस्तै माओवादीका सांसद जर्नादन शर्माले पनि बोर्डको कमजोर वित्तिय अवस्था भएका कम्पनीहरुलाई आईपीओ निष्कासन गर्न दिनु गलत भएको प्रतिक्रिया दिए । 

कांग्रेस सांसद अमरेशकुमार सिंहले बोर्ड र बीमा प्राधिकरणको मिलेमतोमा बीमा कम्पनीको आईपीओ प्रिमियममा जारी गर्न दिइएको बताए ।