काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जले जिम्मेवारीपूर्वक काम नगरे अर्थमन्त्रालयले हस्तक्षेप गर्ने चेतावनी दिएका छन् ।
आइतबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले बजारको नियामक धितोपत्र बोर्ड बजारको विकास र विस्तारका लागि स्वायत्त निकाय भएको प्रष्ट पार्दै भने–‘तपाईहरु जिम्मेवार र जवाफदेही बननुहोस् । हामीलाई हस्तक्षेप गर्ने अवसर नदिनुहोला । तपाईहरुले एकअर्कालाई बल पास गर्ने काम गर्नु भएन ।’
उनले पूँजीबजारसँग जोडिएका धेरै करका इस्यूहरु समाधान भइसकेका दाबी गर्दै पूँजीगत लाभकरमा केही द्विविधा रहेका र त्यसको चाँडै समाधान हुने विश्वास व्यक्त गरे ।
उनले समग्र अर्थतन्त्र उकास्ने जिम्मेवारी वर्तमान सरकारको काँधमा रहेको उल्लेख गर्दै आर्थिक समृद्धि हुँदा त्यसले पूँजीबजारलाई पनि राम्रो गर्ने बताए । बजार विकास र बिस्तारका लागि धेरै काम भएका दाबी गर्दै उनले भने–‘घोडालाई पानीमा लगिसकेको छ, पानी पिउने वा नपिउने काम घोडाको हो । तिर्खाएको छ, पानी पिउँछ भन्ने आशा गरौं । पानी पिएर अब घोडा दौडिन मात्र बाँकी हो ।’
सरकारले लिएको आर्थिक वृद्धिदरको लक्ष्य पूरा गर्नका लागि सुदृढ पूँजीबजारको विकास हुनुपर्नेमा जोड दिंदै उनले भने–‘पूँजी जुटाउन उद्योग कलकारखानाले सेयर निश्कासन गर्लान् । त्यो सेयर बिकेन भने रमाइलो क्षण भएन । तसर्थ सेयर बजारप्रतिको विश्वास बढाइरहनु पनि आर्थिक वृद्धिदरलाई माथि लैजाने एउटा तरिका हो ।’
उनले कतिपय लगानीकर्ताहरुले बजारलाई खेलौना बनाउन खोजेका आरोप लगाउँदै भने–‘बजारलाई खेलौना बन्न दिनुहुन्न । आगोसँग खेल्दा कहिलेकाही आफैं डढिन्छ भन्ने कुरा पनि हेक्का राखौं । बजारलाई स्वस्थ ढंगले अगाडि बढ्नु दिनुपर्छ ।’
अर्को एक प्रसंगमा अर्थमन्त्री खतिवडाले आर्थिक पत्रकारहरुलाई कसैको चश्मा बनेर नलेखिदिन, बरु समाजकै वास्तविक आँखा बन्न पनि सुझाएका छन् ।
‘आँखा बन्ने कि चश्मा मात्रै बन्ने तपाईको हातमा छ ।’ उनले थपे–‘आँखा बने जे सत्य हो त्यही देखिन्छ, तर चश्मा बने जस्तो लगायो त्यस्तै देखिन्छ । मेरो अनुरोध तपाई आर्थिक पत्रकारहरु आँखा हुनुहोस्, चश्मा नबन्नुहोस् ।’
उत्पादन नभई आर्थिक वृद्धि नहुने र आर्थिक वृद्धि नभई मिडियाहरु पनि बाँच्न नसक्ने उनको विश्लेषण छ ।
समग्रमा मुलुकको क्षमता बढेको, व्यवसायिक वातावरण बन्दै गएको उल्लेख गर्दै छिमेकीको आर्थिक वृद्धि घट्दा रुवाबासी नगर्न समेत वृद्धिजिवीहरुलाई आग्रह गरे ।‘ छिमेको आर्थिक वृद्धिदर घट्दा केही हदसम्म असर पर्नसक्छ । तर, त्यसका लागि सरकारलाई सजग बनाउन पनि आवश्यक छ ।’ उनले भने–‘अमेरिकी मुलुकहरुले ५ प्रतिशतको वृद्धि दशकौंदेखि देख्न पाएका छैनन् । एशियाली मुलुकहरुले हामीलाई बानी बिगारेका हुन् । मिराकल केही निश्चित समयसम्म मात्र हुन्छ, सधैं संभव हुँदैन । ३ प्रतिशत वृद्धि हुँदा अमेरिकीहरु उफ्रिन्छन् ।’
व्यापार युद्धको तनावले निर्यातमा बढी ध्यान दिएका मुलुकहरुमा केही समस्या भएको र यो समस्या विस्तारै हल भएर जाने उनको विश्लेषण छ ।
मुलुकको आर्थिक वृद्धिदर हुनु मात्र ठूलो कुरा नभएको उल्लेख गर्दै उनले सोसँगै रोजगारी सिर्जना कुन हिसाबमा भइरहेको छ भन्ने कुरा समेत महत्वपूर्ण रहेको बताए ।
‘हामीले पान नम्बर लिनुपर्छ भन्ने नियम बसाएपछि अधिकांश उद्योगी व्यवसायी आफ्ना कामदार विदेशी रहेका, कसरी पान नम्बर लिने भन्दै हामीकहाँ आउनुहुन्छ ।’ उनले भने–‘हामीले सिर्जना गरेको रोजगारी किन मुलुकबासीका लागि उपयुक्त भएन । के कारणले यस्तो भयो, तपाईहरु(पत्रकार)ले खोजिदिनुहोस् । यसमा अनुसन्धान गरिदिनुहोस् ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago